नेपालको कन्ट्री रेटिङ गर्न फिचको टोली काठमाडौंमा, लगानीको वातावरण बन्ने अर्थमन्त्रीको भनाइ



काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताएका छन् ।

साख मूल्यांकनका लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली नेपाल आएको छ । टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालन लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

क्रेडिट रेटिङ गर्दा कुनै पनि देशको साखको गुणस्तर मूल्यांकन गर्ने, ऋण दायित्व भुक्तान गर्ने क्षमता विश्लेषण गर्ने, विभिन्न प्रकारका वित्तीय जोखिम पहिचान गर्ने, सरकारको राजस्व परिचालन क्षमता र खर्च प्रणाली विश्लेषण गर्ने, विदेशी मुद्राको स्रोत र स्थिरता तथा आर्थिक पारदर्शिता लगायतका विषय अध्ययन गर्दै निश्चित अंक दिइन्छ ।

क्रेडिट रेटिङमा बढी अंक अर्थात् ए प्लस प्राप्त गर्ने देशको आर्थिक अवस्था बलियो भएको सन्देश जाने र कम अंक प्राप्त गर्ने आर्थिक रूपमा कमजोर भएको सन्देश जाने गर्छ ।

क्रेडिट रेटिङ गर्दा फिचले ट्रिपल ए देखि सी सम्म अंक दिने गर्छ । ट्रिपल ए, डबल ए प्लस, डबल ए, डबल ए, ए प्लस, ए, ए माइनल, ट्रिपल बि प्लस, ट्रिपल बि र ट्रिपल बि माइनल अंक प्राप्त गर्ने देशलाई लगानीको हिसाबले न्यून जोखिम मानिने गर्छ।
दक्षिण एसियाली देश मध्ये भारतको रेटिङ ट्रिपल बि रहेको छ । जुन लगानीयोग्य अवस्था हो ।

डबल बि प्लस, डबल बि र डबल बि माइनसलाई जोखिम सहितको लगानीको अवस्था मान्ने गरिन्छ । दक्षिण एसियाली देश मध्ये बंगलादेशको रेटिङ डबल बि रहेको छ ।

विश्वमा स्ट्याण्डर्ड एन्ड पुअर्स (एसएन्डपी), मुड्डिज र फिचलाई क्रेडिट रेटिङ गर्ने प्रतिष्ठित संस्था मान्ने गरिन्छ । यी संस्थाहरूले कुनै पनि देश वा कम्पनीका विषयमा गर्ने रेटिङलाई संसारभरका लगानीकर्ताले विश्वसनीय मान्ने गर्छन् ।

बेलायती सहयोग नियोग अन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) मार्फत फिचलाई सेवा शुल्क भुक्तानी गराएर नेपालको क्रेडिट रेटिङ गर्न लागिएको हो ।


क्लिकमान्डु