मन्त्री परिवर्तन हुन लागेका होइनन्, चीनपछि प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ: गृहमन्त्री



धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री फेर्नेबारे अहिलेसम्म छलफल नभएको बताएका छन् ।

आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा पार्टीहरुबीच छलफल हुनु पर्नेमा त्यस्तो नभएको बताए ।

‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने ।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा कांग्रेस–एमाले बीच तिक्तता भएको भन्दै गरिएको प्रचार सही नभएको उनको भनाइ छ ।

‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं ।’ २०८४ को निर्वाचनसम्म सहज रुपमा मिलेर जाने पनि उनले बताए ।

गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताए ।

प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको दाबी गरे ।


क्लिकमान्डु