भैरहवामा कतार एयरको ‘टच डाउन’ मात्रै, प्रतिउडान ८ लाख छुट पाउँदासमेत २५ हजारको टिकेट मूल्य ७५ हजार

टिकट महँगो भएपछि खाडी जाने यात्रुको गन्तव्य बन्यो भारत



काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई २५ प्रतिशतको ग्राउण्ड ह्याण्डलिङबाहेक सबै छुट दिएको छ ।

काठमाडौं विमानस्थलको तुलनामा यो विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानको वायुसेवाले पाएको इन्धनमा छुट, ग्राउन्ड ह्याण्डलिङमा छुट, पार्किङ र एरोनटिक तथा नन एरोनटिकल शुल्कमा पाएको शतप्रतिशतको छुटका कारण काठमाडौं विमानस्थलको तुलनामा भैरहवामा अवतरण गर्दा एउटा न्यारोबडी जहाजलाई ८ लाख रुपैयाँसम्म फाइदा हुन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा आवतरण गर्दा पाउने सबै छुट दिएर भैरहवाबाट हुने उडानमा प्रोत्साहन गर्दासमेत काठमाडौंको तुलनामा भैरहवाको भाडा असुली अधिक भइरहेको छ ।

भैरहवामा अहिले पनि कतार एयरलाइन्स, फ्लाई दुबई, नेपाल एयरलाइन्सको टचडाउन (भैरहवामा हुँदै काठमाडौं आउने तर यात्रु राख्ने ओराल्ने नगर्ने) गरिरहेका छन् ।

फ्लाई दुबईले विस्तारै भैरहवा केन्द्रित उडान तालिका बनाएको र एक सातापछिलाई काठमाडौंको भाडादरसमेत सार्वजनिक गरेको भए पनि कतार एयरलाइन्सले भने भैरहवामा उडानै गर्न नचाहेको देखिन्छ ।

कतार एयरलाइन्सले भैरहवालाई टचडाउन मात्रै गरेर काठमाडौंमा उडान संख्या बढाउने मात्रै काम गरेको छ । यो वायुसेवाले भैरहवाको लागि टिकट नै बिक्री गरेको छैन ।

एक ट्राभल व्यवसायीका अनुसार कतार एयरलाइन्सले भैरहवाबाट हुने उडान अवतरण दुबैको टिकेट बिक्री नै गरेको छैन । यसो हुँदा यो एयरलाइन्सले कतारको दोहाबाट भैरहवा आउने र भैरहवामा यात्रु झार्ने/राख्ने केही नगरी सबै यात्रुलाई काठमाडौं नै ल्याउने गरेको छ ।

कतार एयरलाइन्सले काठमाडौंसम्म नै पूर्णयात्रु क्षमतामा आउने र काठमाडौंबाट पनि पूर्ण क्षमतामा कतार यात्रु लैजाने गरेको छ ।

‘कतार एयरलाइन्स भैरहवा आए पनि उसले त्यहाँ आउने वा जाने यात्रु राख्ने गरेको छैन,’ उनले भने, ‘विमानस्थल भैरहवा अवतरण त गर्छ तर उसले त्यहाँ ढोका खोल्ने मात्र काम गरेको छ ।’

कतार एयरलाइन्सले एक सातापछि अर्थात २५ नोभेम्बर (१० मंसिर)को लागि कतारको दोहाबाट भैरहवाको उडान खुला गरेको देखाएको भए पनि भाडा भने महँगो राखेको छ । उक्त उडानमा दोहा भैरहवाको भाडा ७५ हजार रुपैयाँको राखिएको छ । जबकी दोहा काठमाडौंका सोही उडानको भाडा भने २६ हजार मात्रै छ । सोही दिन हिमालय एयरलाइन्सको दोहा काठमाडौंको भाडा २४ हजार रुपैयाँ रहेको छ ।

काठमाडौं आउने भाडाको तुलनामा भैरहवामा अधिक देखाउने र टिकट नै बिक्री नगरी भैरहवामा गएको मात्रै बहाना गर्ने काम कतार एयरलाइन्सले गरिरहेको छ ।

भैरहवा विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीका अनुसार कतार एयरलाइन्सले दोहाबाट काठमाडौंकै लागि पूर्णक्षमतामा यात्रु ल्याउने गरेकाले भैरहवा टचडाउन मात्रै गर्ने गरेको बताए । उनकाअनुसार यो वायुसेवालाई भैरहवा हुँदै काठमाडौं आउने अनुमति दिएकोले भैरहवामा ओर्लने यात्रु नहुँदा काठमाडौंको मात्रै यात्रु भएको बताइरहेको छ ।

‘कतार एयरलाइन्सले दोहाबाट काठमाडौंका लागि पूर्णक्षमतामा यात्रु ल्याउने गरेको छ र भैरहवामा टचडाउनमात्र भइरहेको छ,’ तिवारीले भने, ‘भैरहवा हुँदै काठमाडौंको अनुमति भएकाले आउनै पर्ने हुन्छ । तर भैरहवा ओर्लने यात्रु नभएको बताइरहेको छ ।’

भैरहवामा कतार एयरलाइन्सको यात्रु सेवा, टिकेटिङ, कर्मचारी व्यवस्थापनसहितमा कुनै तयारी नभएको र यसले भैरहवा उडानलाई महत्व नै नदिएको कारण काठमाडौंमा उडान गर्न बाध्यताको लागि मात्रै भैरहवामा आइरहेको उनको भनाइ छ ।

जजिरा र एयर एसिया थाईलाई जस्तो भैरहवासम्मको मात्रै उडान अनुमति दिने हो भने मात्रै भैरहवासम्मकै यात्रु उडानमा अन्य एयरलाइन्सले जोड दिने तिवारी बताउँछन् ।

भैरहवामा जानै नचाहेका वायुसेवालाई भैरहवा टेक्नुपर्ने बाध्यता गराएको कारण पनि काठमाडौं केन्द्रित उडान भइरहेको छ । भैरहवामा टिकेट बिक्री नै गर्न नचाहेको कारण पनि दोहाबाट भैरहवा हुँदै काठमाडौं आउने यात्रुलाई २५ हजार लिने यो वायुसेवाले भैरहवा नै झर्ने यात्रुलाई भने ७५ हजार रुपैयाँका टिकेट देखाएको हो ।

टिकेट महँगो राखेका एयरलाइन्सले सो गन्तव्यवमा यात्रु नै हुँदैनन् र भैरहवा चलेन भन्ने बहाना बनाउन खोजेको हुन सक्छ ।

कतार एयरलाइन्सका बिक्री प्रवन्धक सारिक बोगटीले भने काठमाडौंको यात्रु थेग्न गाह्रो भएकोले भैरहवाको टिकेट बिक्री नगरेको स्वीकार गरे ।‘काठमाडौंमा उडान चाप व्यवस्थापन गर्न हम्मे परिरहेकोले भैरहवा हुँदै आउने मात्रै गरिएको हो’ उनले भने ।

कतारले दैनिक २ वटा दोहा काठमाडौं र एउटा उडान दोहा भैरहवा काठमाडौं गर्ने गरेको छ । काठमाडौं विमानस्थलको धावनमार्ग विस्तार सुरु हुनुअगाडि यसले दैनिक ४ वटा उडान काठमाडौंका लागि मात्रै गर्ने गरेको थियो ।

भाडा महँगो भएपछि खाडी जाने यात्रुको गन्तव्य भारत

नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ कात्तिक (८ नोभेम्बर)बाट काठमाडौं विमानस्थलको ट्याक्सी वे मर्मत गर्न भन्दै दैनिक १० घण्टा विमानस्थल बन्द गर्न थालेको छ । सो दिनबाट काठमाडौं आउने जहाज भैरहवासमेत जानुपर्ने विकल्प प्राधिकरणले दिएको छ ।

काठमाडौं विमानस्थल विस्तारको लागि भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तालिका ३० प्रतिशत कटौती गरेको छ । उडान कटौती भएसँगै यात्रु चाप बढेको भन्दै विदेशी वायुसेवाले अधिक भाडा असुल गर्न थालेका छन्।

काठमाडौंबाट बाहिरिने हरेक अन्तर्राष्ट्रिय उडानका वायुसेवाले महँगो भाडा लिन थालेपछि त्यसको विकल्पमा भारतीय बाटो हुँदै जान थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासविच मेघनाथ भुर्तेलले बताए । ‘काठमाडौं विमानस्थलमा हुने उडान घटेको र बाहिरिने यात्रुको चाप भने कम नभएको भन्दै वायुसेवा कम्पनीले अधिक भाडा बढाएका छन्,’ उनले भने, ‘काठमाडौंबाट हुने उडानको भाडाभन्दा भारतीय गन्तव्य बाग्डोर, गोरखपुर, दिल्ली जान सस्तो पर्ने भएकोले खाडी जाने यात्रुलाई उतैबाट उडाउने काम मेनपावर व्यवसायीले गरिरहेका छन् ।’

उनले सरकारले बिनायोजना सिजनमा विमानस्थल बन्द गराउँदा समस्या भएको बताए ।

‘सरकारले बिनायोजना पर्यटकीय सिजनसँगै चाँडबाड सकेर विदेश जाने बेलामा विमानस्थल बन्द गराएर हवाई भाडा महँगो गराएको छ,’ भुर्तेलले क्लिकमान्डुसँग, ‘विकल्पका विमानस्थल तयार गरेर उताबाट उडान हुन थालिसकेपछि मात्रै काठमाडौं विमानस्थलमर्मत गर्न पटकपटक दिएको सुझाव पालना नभएपछि अहिलेको अस्वभाविक भाडा वृद्धिको अवस्था आएको हो ।’

मजदुरले काठमाडौंबाट दुबई जाँदा ९२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने अवस्था बनेको र दिल्लीबाट ३७ हजार रुपैयाँमै जान सकिने भएपछि बाध्य भएर मजदुरलाई भारत हुँदै पठाउनुपरेको उनी बताउँछन् ।

अहिले टिकेट महँगो बनाउनु एयरलाइन्सको कालोबजारी भएको उनको तर्क छ ।

टीबीए खारेजीको घोषणा मात्रै कार्यान्वयन भएन

एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए)को खारेज भएको घोषणा भए पनि व्यवहारिक रुपमा कार्यान्वयन भने नभएको एक ट्राभल एजेन्सी सञ्चालकले गुनासो गरेका छन् ।

उनकाअनुसार सरकारले टीबीए खारेज गरेको घोषणा मात्रै भयो तर केही एजेन्सीले एयरलाइन्सगँ गर्ने मिलेमतो अझै तोडिएको छैन ।

भैरहवाबाट हुने उडानमा विदेशी वायुसेवाले चासो नै नदेखाएको उनीहरुले राखेको अधिक मूल्यको टिकेट, बिक्री नै नगर्ने र भैरहवाको टिकेटफुल देखाउने तर उडानै नहुने व्यवस्थाले पनि पुष्टि गरेको ति ट्राभल व्यवसायीको तर्क छ ।

भैरहवाबाट उडान नगर्ने वायुसेवालाई काठमाडौंको मात्रै अनुमति नदिएको र बाध्यता बनाउँदा पनि यात्रु छैनन् भनेर टिकेट नै बिक्री नगर्ने वायुसेवालाई कारबाही गर्न खोज्दा पनि अन्तर्राष्ट्रिय उड्डयन नियमले नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकार गरेको छ ।

प्राधिकरणका एक उच्च अधिकारीकाअनुसार कतार एयरलाइन्सलाई भैरहवाबाट उडान नगरे काठमाडौंबाट पनि रोकिदिने व्यवस्था गर्न खोज्दा नेपाली कामदार नै रोकिने अवस्था आउने भयो ।

कतार एयरले पनि असन्तुष्टि जनाएपछि भैरहवा हुँदै काठमाडौं आउने अनुमति दिएको पाइएको छ ।

भारत जाने गाडीको टिकट नै नपाइने समस्या

काठमाडौंका एक मेनपावर व्यवसायीले गत साता १० जना खाडी मुलुक उडानुपर्ने कामदारलाई दिल्लीबाट पठाए । ती व्यवसायी बुधबार पनि १८ जना मजदुर खाडी पठाउन आफैं भारतको लखनउ र दिल्ली जाँदै छन् ।

लखनउबाट ८ जना र बाँकी यात्रु दिल्लीबाट कतार तथा दुबई पठाउने तयारीमा ती व्यवसायी छन् । उनले काठमाडौंबाट सिधै खाडी मुलुक जाने वायुसेवाको टिकट महँगो भएपछि भारतबाट पठाउने उपयुक्त विकल्प देखे । उनले जस्तै अन्य म्यानपावर व्यवसायीले २३ कात्तिकपछि काठमाडौंको विकल्पमा भारतका वाग्डोरा, लखनउ, दिल्लीसहितका गन्तव्यबाट खाडी मुलुकमा नेपाली कामदार लैजान थालेका छन् ।

भारतबाट ३०/३५ हजार रुपैयाँमा पाइने टिकट काठमाडौंबाट दोब्बरभन्दा महँगो भए पनि विकल्प खोज्नुपरेको ती व्यवसायीले क्लिकमान्डुलाई बताए । उनका अनुसार काठमाडौंबाट गाडीमा जाँदा जम्मा ४८ सय रुपैयाँ प्रतिव्यक्ति भाडामा खर्च हुने रहेछ । मजदुरलाई पनि सस्तो पर्ने र पुरानो सम्झौता अनुसार कामदार पठाउनुपर्ने बाध्यताका कारण दिल्ली जानुपर्ने बाध्यता आएको उनी बताउँछन् ।

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिए।

हवाई भाडा वृद्धिबारे मन्त्रालयमा बुधबार छलफलका लागि बोलाउँदै वायुसेवा कम्पनीहरुलाई भाडा वृद्धिबारे पुनर्विचार गर्न निर्देशन दिए । ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले गरेको व्यवहारले म निकै दुखी छु ।’

यसअघि हवाई सेवा कम्पनीले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश पोखे । हवाई भाडावृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको जानकारी गराउँदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे ।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए । २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य उपलब्ध गराउन उनले निर्देशन दिए।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए ।

पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाए।


राजु बास्कोटा