६४० मेगावाटको कालीगण्डकी हाइड्रो निर्माण हुँदै, अध्ययनको काम धमाधम



काठमाडौं । ६४०.३९ मेगावाटको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अघि बढाइने भएको छ ।

यो आयोजना निर्माण अघि बढाउन विद्युत् विकास विभागले धमाधम अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययन भएको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारिरहेको छ ।

प्रस्तावित जलविद्युत् आयोजना पर्वतको जलजला गाउँपालिका, कुश्मा, फलेवास नगरपालिका, बिहादी गाउँपालिकामा निर्माण हुनेछ । बागलुङको बागलुङ नगरपालिका र जैमिनी नगरपालिका पर्छ । स्याङजाको गल्याङ नगरपालिका  तथा गुल्मीको कालीगण्डकी गाउँपालिका पर्छ ।

यो आयोजना करिब २४४ मिटर उचाई (फाउन्डेसन सहित) र ७५९.७७ मिटर लम्बाई भएको रोलर कम्प्याक्टेड कंक्रिट बाँध निर्माण गरिनेछ । यो आयोजनामा ४ वटा पेनस्टक पाइप, ४ वटा फ्रान्सिस टर्बाइन र सेमि अण्डरग्राउण्ड विद्युत् गृह हुनेछ । ग्रस हेड १९० मिटर, नेट हेड १८३.४ मिटर हुनेछ ।

यो आयोजनाबाट सुक्खायाँममा ५७४.५५ गिगावाट आवर र वर्खायाममा १०६०.२९ गिगावाट आवर छ । १६३४.८४ गिगावाट आवर वार्षिक ऊर्जा उत्पादन गर्नेछ ।

यो आयोजनाको इआईए प्रतिवेदन स्मेक इन्टरनेशनल प्रालि,  अष्ट्रेलिया र जेड कन्सल्ट प्रालिको सयुक्त उपक्रम जेभीले तयार पारिरहेको छ । इआईए प्रतिवेदन तयार भएपछि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । स्वीकृति पाएपछि निर्माणको बाँकी प्रक्रियाका लागि बाटो खुल्छ ।


क्लिकमान्डु