‘यहि प्रणालीले कार्य सम्पादन गर्दा राजश्वको लक्ष्य भेट्न सकिन्न’ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेकै सामान्य प्रणालीबाट कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नभएको बताएका छन् ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा राजधानीका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शनिबार यस्तो बताएका हुन् । राजस्वको लक्ष्य भेटन् कर प्रणालीलाई आधुनिकीकरण र प्रविधिमैत्री जनशक्ति विकास गर्नुका साथै सरलीकरण प्रक्रिया आवश्यक रहेको उनको सुझाव छ ।
उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।
सूचना प्रविधिको प्रयोगमा बिस्तार तथा त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई उनले निर्देशन दिए । उपप्रधानमन्त्री पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए ।
उनले कर सङ्कलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई निर्देशन दिए । सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भएपनि सो अनुपातमा राजश्व सङ्कलन बढ्न नसकेको बताउँदै उनले जिम्मेवार र जबाफदेही हिसाबले राजश्व सङ्कलनको काममा केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिए ।
२०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरूको प्रगतिको अवस्था मूल्याङ्कन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताए ।
बजार अनुगमनको सङ्ख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको भन्दै उनले बक्यौता असुली, बेरुजु फर्स्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको उनले बताए ।
उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताए । सामाजिक सुरक्षा, विकास निर्माण, सङ्घीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरूले श्रोतमाथिको दबाब बढिरहेको बताए