गोकर्ण सहकारीबाट बचतकर्ताको साढे २ करोड बढी ठगीः अध्यक्ष पक्राउ, ६ जना फरार



काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारीले बचतकर्ताको साढे २ करोडभन्दा बढी ठगी गरेको छ ।

सहकारीले ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८४६ रुपैयाँ बचत ठगी गरेको हो । बचत ठगी गरेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

बचतकर्ताको उक्त बचत अपचलन गरेर सहकारीका ६ जना फरार रहेका छन् भने अध्यक्ष पक्राउ परेका छन् । सहकारी अध्यक्ष ३७ वर्षका रोशन बाबु श्रेष्ठ पक्राउ परेका हुन् ।

यस्तै सहकारीका उपाध्यक्ष ४७ वर्षीया रेनुका श्रेष्ठ, सचिव ३५ वर्षीय महेश्वरी अधिकारी, कोषाध्यक्ष ४१ वर्षीय हिमाल काफ्ले, सञ्चालक समिति सदस्य ३३ वर्षीय जीतबहादुर थापा, सदस्य ३८ वर्षीय पूर्णकुमार श्रेष्ठ र सदस्य ४६ वर्षीय राजु नेपाली फरार रहेका छन् । उनीहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ कै उपदफा (३) को (ग) बमोजिम सजाय मागदाबी गरिएको छ । जसमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न आलटाल गर्ने, बचतकर्ताको बचत सहकारीका पदाधिकारीले आफुखुसी मनलाग्दी प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरी परेपछि प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा कात्तिक पहिलो साता मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु