रवि लामिछानेको मुद्दा कसरी अघि बढ्छ ?



काठमाडौं । सहकारी बचत अपचलन र संगठित अपराध मुद्दामा कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परे । पक्राउ परेपछि उनका समर्थक र रास्वपाका कार्यकर्ताले आन्दोलन गरिरहेका छन् ।

प्रहरीले अनुसन्धान गरिरहेको समयमा उनीहरुले गरेको आन्दोलनलाई कतै अनुसन्धानलाई प्रभावित बनाउन त खोजेको होइन भन्ने पक्षबाट पनि हेरिएको छ । तर, रास्वपाको नेता तथा कार्यकर्ता भने आफूहरुको आन्दोलन सहकारी पीडित र प्रतिशोधविरुद्ध रहकोले न्याय निरुपणमा कुनै असर नपर्ने दाबी गर्छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा कारबाहीका लागि सिफरिस र कास्की प्रहरीमा परेको पुरक उजुरीपछि लामिछाने पक्राउ परेका हुन् ।

प्रतिवेदनमा ठगी गरेको किटान नगरिए पनि सरकार राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिशोधमा उत्रिएको उनीहरुको तर्क छ ।

लामिछानेलाई सरकारले पक्राउ गरेर विभिन्न झुठा मुद्दा लगाउने काम गरिरहेको र त्यो गैह्रन्यायिक भएको रविको तर्फबाट बहस गर्ने अधिवक्ता मधु चौलागाई बताउँछन् ।

रवि पक्राउ परेपछि अदालतले दुई पटक म्याद थप गरिसकेको छ । म्याद थप गर्दा सहकारीको रकम हिनामिना भयो भनेर म्याद थप गरेको छ । सहकारीको रकम ल्याउनमा रविको संलग्नता देखिएन भनेपछि त्यो रकम हिनामिना गर्न रविको संलग्नता कसरी देखियो ? भन्ने उनको प्रश्न छ । अहिले गैह्र न्यायिक काम नगर्न र राजनीतिक प्रतिरोध साँध्ने काम नगर्न भनेर भनिरहेको उनको दाबी छ ।

सरकारले लामिछानेमाथि सहकारी ऐन २०७४, संगठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहित २०७४, कम्पनी ऐन २०६३, राहदानी ऐन २०७६ तथा सम्पत्ति शुद्धिकरण तथा निवारण ऐन २०६९ गरी ६ वटा ऐन अनुसार अनुसन्धान गर्दै मुद्दा दायर गर्ने सम्भावना रहेको बताइन्छ । यता रविका समर्थक भने सडकमा नै छन् ।

अदालतले सम्पत्ति शुद्धिकरणलाई समेत अघि बढाउन प्रहरीलाई अनुमति दिइसकेको अवस्थामा लामिछाने दोस्रोपटक म्याद थपपछि अहिले पनि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई तिहारपछि अदालत खुलेको दिन पुन अदालत पेस गरिने छ ।

उनलाई सहकारी बचत अपचलनमा प्रकरणमै रुपन्देही, चितवन, काठमाडौं लगायतका जिल्ला पुर्‍याउने प्रहरी तयारी छ ।

रविका व्यवसायीक साझोदार गितेन्द्र बहादुर (जिबी) राई काँग्रेस, एमालेसँग सम्पर्कमा रहेको र रविलाई फसाउने काम भएको चौलागाईको दाबी छ ।

जिवी समयमा नै पक्राउ परेका थिए भने अहिलेको अवस्था नआउने सबैको आकलन छ । प्रहरीले छानविन गरिरहेको यो अनुसन्धान अब कसरी अघि बढ्ला ? प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका लामिछानेको बचाउनमा उनका समर्थक र रास्वपाका नेताको आन्दोलनले दिन खोजेको सन्देश के हो ? यो विषयमा अधिवक्ता तथा रास्वपाका नेता मधु चौलागाईसँग क्लिकमान्डुका सोभित थपलियाले गरेको कुराकानी:


क्लिकमान्डु