थाइ एयर एसियाको नेपाल उडानमा प्रतिबन्ध, जीएसए निलम्बन




काठमाडौं । अनुमति बिना काठमाडौं विमानस्थलमा उडान गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइल्याण्डबाट आएको थाइ एयर एसियाको उडानमा प्रतिबन्ध लगाएको छ । यो वायुेवालाई अर्को सूचना जारी नभएसम्मको लागि नेपाल उडानमा रोक लगाइएको छ भने यसको जनरल सेल्स एजेन्टस् (जीसएस)समेत निलम्बन भएको छ ।

उड्डयन प्राधिकरणले अर्को सूचना जारी नभएसम्मको लागि अनुमति बिना उडान गरेको भन्दै थाइ एयर एसियालाई कारवाही गरेको हो।

उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाजलाई अवतरण गर्न दिएर कारवाही गरिने भएको हाे । यो वायुसेवाले हिजो २६ अक्टोबरसम्मको मात्रै उडान अनुमति लिएका छ भने आज (२७ अक्टोबर)बाट उडान अनुमति लिएको छैन् ।

आजबाट विन्टर सिजन लागेको र यस अघि लिएको अनुमति सबै वायुसेवाको सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए । नेपाल उडान गर्ने अरु सबै वायुसेवाले विन्टर सिजनको अनुमति लिएरै आएका छन भने एयर एसियाले भने अनुमित नलिइ आयो ।

उनका अनुसार विन्टर सिजनमा हुने उडान अवतरणको अनुमति नलिइ यस अघिकै उडान जसरी एयर एसिया आज आइतबार पनि काठमाडौं आयो । उक्त वायुसेवालाई अनुमति नै नदिएको हुँदा अवतरण गर्न दिने र फिर्ता पठाउनुपर्ने अडान महाप्रवन्धकले लिएको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरले नेपाली आकासमा आइसकेको र अवतरणका लागि होल्ड गरेर बसिरहेकोले अवतरण गराउने र आवश्यक कारवाही गर्ने गरी अनुमति दिएको हो ।

थाइ एयर एसियाको थाइल्याण्डको बैंककबाट काठमाडौं आइरहेकै वायुसेवा हो । यसले आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने अनुमति नपाउँदै आकाशै होल्ड भएको हो। थाइ एयर एसियाको उडान अवतरण अनुमति समाप्त भएपछि विमानस्थलले अवतरण गर्न नदिने र दिने विषयमा निर्णय नहुँदा यसको जहाज आधा घण्टा भन्दा बढी समय आकासमै होल्ड भएको छ ।

प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नेपालका लागि टिकेटिङ गर्ने आधिकारिक बिक्रेता युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि अर्को सूचना जारी नभएसम्मको लागि टिकट काट्न रोक लगाएको हो। प्राधिकरणले टिकेट काट्न रोक लगाउनु नै यसलाइ निलम्बन गरेर कारवाही भएकाे बताएकाे छ ।

थाइले गत असोज १६ बाट बैंकक–काठमाडौं दुईतर्फी व्यवसायिक उडान थालेको हो। यसले हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो। यसले आजैबाट भैरहवा उडान गर्ने भनेपनि काठमाडौै नै आएको छ । प्राधिकरणले भने यसलाई भैरहवाकाे उडान तालिका स्वीकृत नगरेसम्म आजबाट काठमाडौंमा उडान अनुमति दिएको छैन । यसले लापरवाही गर्दै उडान अनुमति नलिएकाे ठहर प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार यसले ८ नोभेम्बरबाट भैरहवा उडान गर्छु भनेकाे भएपनि तालिका भने स्वीकृत गराएकाे छैन । काठमाडौं विमानस्थलकाे हकमा पनि आइतबारबाटै सुरु भएकाे विन्टर सिजनको तालिका स्वीकृत भएको छैन ।

भैरहवाको तालिका स्वीकृत नभइ काठमाडौंकाे पनि स्वीकृत नगर्ने अडान प्राधिकरणले लिएको थियो । याे वायुसेवाकाे जीएसएकाे लापरवाहीले अनुमित बिना नै उडान गरेकाे ठहर प्राधिकरणकाे छ । एसकाे जीएसए युर्निभर्सल टुर्स एण्ड ट्राभल हाे भने यसकाे प्रवन्ध निर्देशक परासर प्रसाईं हुन् ।

यो मलेसियाबाट ५ वर्ष अगाडि नियमित उडान गरिरहेको वायुसेवा हो । एयर एसियाको नामबाट चलेको यो वायुसेवाले मलेसियाबाट उडान गरेको बक्यौता रकम नतिरेपछि यसको उडान बन्द भएको थियो । यसले मलेसियाबाट बाँकी राखेको पैसा किस्ताबन्दीमा तिर्दै करिब एक महिनाअघिदेखी मात्रै थाइल्याण्डबाट पुन नेपालमा उडान सुरु गरेको हो ।


क्लिकमान्डु