घरजग्गाको कारोबार २४ प्रतिशत घट्यो



काठमाडौं । घरजग्गा कारोबारले गति लिन नसकेको देखिएको छ । यो वर्षको कारोबार निरन्तर घट्दै गएको पनि तथ्यांकले देखाएको छ ।

घरजग्गा कारोबार चालू आर्थिक वर्षको असोजमा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । सरकारले घरजग्गा कारोबार बढाएर अर्थतन्त्र चलायमान गर्न बजेट बक्तव्य तथा मौद्रिक नीतिले सहजीकरण गरेको भएपनि गति लिन भने सकेको छैने ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोजमा घरजग्गा कारोबारबाट ३ अर्ब ८१ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तो राजस्व संकलन गत वर्ष असोजमा ४ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ रहेको पनि भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार असोजमा देशभरिमा ३० हजार ५२७ वटा घरजग्गाको किनबेच भएको छ । यस्तो किनबेच गत वर्ष २०८० को असोजको तुलनामा यो बर्र्षको असोजमा २४ प्रतिशत कम कारोबार भएको देखिएको छ ।

यस्तो कारोबार भदौमा ३२ हजार ७९८ रहेको छ भने साउनमा ४३ हजार ८०० थिया । असारमा ४६ हजारमा कारोबार भएकोले असोजमा भएको कारोबार चालू आवको सुरुवातदेखि हरेक महिना कम हुँदै गएको देखिएको छ ।


क्लिकमान्डु