न्यारोबडीको पूरै र वाइडबडीको आंशिक किस्ता भुक्तानी, निगमले तिर्‍यो ५३ करोड



काठमाडौं । नेपाल वायुसेवा निगमले असोज महिनाको लागि न्यारोबडीको पूरै र वाइडबडीको आंशिक किस्ता रकम भुक्तानी गरेको छ । निगमले जहाज किन्दा लिएको ऋणवापतको असोजमा तिर्नुपर्ने किस्ता रकममध्येबाट ५३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋण लिएर ४ वटा जहाज किनेको थियो ।

जहाज किन्दा लिएको ऋणमध्ये दुई न्यारोबडी जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी मिति २०८१ आश्विन ३० गते जम्मा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ आश्विन सम्मको अवधिमा ६ अर्व ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको दाबी निगमको छ ।

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको थियो ।

सो विषय छलफलमै रहेको भएपनि हालसम्म निगका लागि ऋणदाता दुबै निकायले कुनै निर्णय भने नगरेको निगमको भनाइ छ ।


क्लिकमान्डु