क्यानडाका ६ कूटनीतिज्ञलाई ४ दिनभित्र भारत छोड्न मोदी सरकारको निर्देशन



एजेन्सी । क्यानडासँग केही महिनायता चलिरहेको तनाबका बीच भारतले क्यानडाका उच्चायुक्तसहित ६ जना कूटनीतिज्ञहरुलाई निष्कासन गरेको छ । र क्यानडामा रहेका भारतीय उच्चायुक्त सञ्जय कुमार बर्मालाई पनि फिर्ता बोलाएको छ ।

भारतले निष्कासन गरेका क्यानेडियन कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिवर्ट रस, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी केथरिन जोली, फर्स्ट सेक्रेटरी इयान रस डेभिड ट्राइट्स, फर्स्ट सेक्रेटरी एडम जेम्स चुइपका र फर्स्ट सेक्रेटरी पाउला ओर्जुएलालाई भारतले निष्कासन गरेको हो ।

भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अबको चार दिनभित्र भारत छाड्न निर्देशन दिएको हो । क्यानडामा २०२३ मा भारतीय मूलका खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा भारतको हात रहेको भन्दै क्यानडाले आरोप लगाइरहँदा दुई देशबीच तनाब बढेको हो ।

उक्त घटनामा क्यानडाले भारतलाई आरोप लगाउँदै कूटनीतिक नोट समेत पठाएको थियो । यसबीचमा क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले पनि भारतको प्रश्नको जवाफ दिएको जनाएका छन् ।

सोमबार साँझ भने भारतीय विदेश मन्त्रालयले जस्टीन ट्रुडोको गलत रबैयाका कारण भारतीय कूटनीतज्ञको सुरक्षा खतरामा परेको भन्दै फिर्ता बोलाउने निर्णय गरेको हो । यसका लागि क्यानडाको भरोसा नरहेको भारतको भनाइ छ ।


क्लिकमान्डु