उपत्यकाका बागमतीसहितका यी खोलामा जलसतहले पार गर्‍यो सतर्कता तह



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका खोला तथा नदीमा जलसतहले सतर्कता पार गरेको छ ।

बागमतीले खोकना र गौरीघाट, बल्खु खोलाले बलम्बु तथा विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा बस्ने र यात्रा गर्नेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै आइतबारसम्म भीषण वर्षाको चेतावनीसहित देशभरका ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।


क्लिकमान्डु