सिधा कुराविरुद्धको अदालतको अवहेलना मुद्दामा आज निर्णय सुनाइने
काठमाडौं । सिधाकुरा डटकम अनलाइनविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउँदैछ ।
अदालतको अवहेलना मुद्दामा ‘सिधाकुरा’ अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादक विरुद्धको मुद्दामा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले उक्त मुद्दामा सुनुवाइ गरी फैसला मिति तोकेको थियो ।
सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध अदालतको अवहेलना मुद्दा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको थियो । बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेका थिए ।
सिधा कुरा डटकम नामक युट्युब र अनलाइनले अख्तियारको स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा बैठक बसेर डिल भएको समाचार र भिडियो प्रकाशन/प्रशारण भएको थियो ।
उक्त भिडियोमा डिल भएको भन्दै बैठकको अडियो सामग्री राखिएको थियो । तर, सर्वोच्च अदालत स्वयंले यस विषयलाई लिएर अदालतको अवहेलना भन्दै रिट दायर गरेको थियो । त्यसक्रममा अदालते प्रमाण भनिएको अडिओबारे छानबिन गर्न प्रहरीलाई आदेश दिएको थियो । उक्त अडियोको जाँच गर्दै प्रहरीले प्रतिवेदन पेस गरेको थियो। उक्त अडियो सामग्री भ्रमक र असत्य भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ ।