कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्यसम्पादन सम्झौता



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।

मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो । त्यस अवसरमा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरुसहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे ।

त्यस अवसरमा सचिव गेलालले पनि कार्यवाहक प्रधानमन्त्री सिंहसँग मन्त्रालयको कार्य सम्पादनका लागि गरिएको सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्झौतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भाद्र २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका थिए ।


क्लिकमान्डु