रास्वपा कार्यकर्तालाई मुकुलको आग्रह: पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाउनेलाई समातेर प्रहरीमा बुझाइदिनुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्कालीन महामन्त्री डा.मुकुल ढकालले कार्यकर्ताको उर्जा एकजना सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

आइतबार राति रवि लामिछाने पक्राउ पर्न लागेको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताको बाक्लो उपस्थिति भएको थियो ।

त्यसलाई लक्षित गर्दै हाल पार्टीबाट निष्काशित ढकालले आफूहरुले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि नभएको भन्दै त्यस्ताको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि भएको जनाएका छन् ।

‘तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो,’ ढकालले रवि लामिछानेको नाम उल्लेख नगरी भनेका छन्, ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।’

विधिको शासन स्थापना गर्ने बेला भएको भन्दै उनले भनेका छन्, ‘ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन।’


क्लिकमान्डु