छानबिन समितिले भन्योः स्वेट सेयर प्रकरणमा कर छली भयो, रविलाई हुनसक्छ २ वर्ष जेल



काठमाडौं । गोरखा मिडिया नेटवर्कको स्वेट सेयर प्रकरणमा कर छली भएको हुनसक्ने निष्कर्ष निकालिएको छ । प्रतिनिधि सभा सदस्य सूर्य थापाको नेतृत्वमा बनेको सहकारी छानबिन विशेष संसदीय समितिले तयार पारेको प्रतिनवेदनमा गोरखा मिडिया नेटवर्ककको सेयर खरिदबिक्री गर्दा किर्ते कागजात प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ ।

गोरखा मिडिया लगायतमा कम्पनीमा सेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हो । यसो हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न समितिले सरकारलाई सिफारिस गरेको छ । यसैगरी स्वेट सेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई समितिले सिफारिस गरेको छ ।

गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा १ करोड ८० लाख रूपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो । रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो ।

कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पुर्‍याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्मम कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सोहीकारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई दुई वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको हो ।ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको पाइएको हो ।

लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट राईको नाममा सेयर नामसारी हुने भएकाले त्यस्तो गरिएको भन्दै झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरेका थिए ।

उतिबेला रविले भनेका थिए, ‘मेरो सेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन । सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियो जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखि कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा सेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।’

सेयर हस्तान्तरणका लागि राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा रविले सहमति दिएर कम्पनी रजिष्ट्रारको कार्यालयलाई ढाँटेको देखिएको हो ।

यता रविले गोर्खा मिडिया नेटवर्कको खातामा पैसा बुझाएर १५ प्रतिशत सेयर स्वामित्व लिएका थिए । सो कार्यमा करछली समेत भएको हुनसक्ने छानबिन समितिको ठहर छ ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले जेठ ६ गते प्रतिनिधि सभाको बैठकमा ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा आफूले स्वेट (पसिना र श्रम वापत) सेयर लिएको बताएका थिए ।

‘म टेलिभिजनमा काम गर्ने हुटहुटी भएको मान्छे, टेलिभिजन खोल्ने प्रस्ताव आयो । मैले स्वेट सेयरको रुपमा (आफूले लगानी नगरेको होइन ) स्वेट सेयरको रुपमा आफ्नो सेवा सुविधा सहित त्यस (ग्यालेक्सी टिभी) मा काम गर्ने निधो गरेँ,’ लामिछानेले संसद बैठकमा भनेका थिए, ‘त्यो मैले प्राप्त गरेको वा लिएको पैसा होइन । काम गरे छोडेर गए । स्वेट सेयरका रुपमा रहेकाले त्यो पनि लिएर गइनँ, छोडेरै गएँ । त्यसको सार्वजनिकीकरण कार्यक्रम सुरु हुँदाको पहिलो श्रृखला र अन्तिम श्रृखलामा आम जनतासमक्ष प्रस्तुत गरेको थिएँ । भएको यत्ति नै हो ।’

लामिछानेले गोरखा मिडिया नेटवर्कमा आफूले श्रम गरे वापत सेयर प्राप्त गरेको प्रतिनिधि सभालाई जानकारी गराएका थिए ।

तर, क्लिकमान्डुले गरेको अध्ययनबाट लामिछानेले ‘स्वेट’ सेयर नभई गोर्खा मिडिया नेटवर्कको खातामा बुटवलको सुप्रिम सहकारीबाट ऋण लिँदै पैसा जम्मा गर्न लगाएर सेयर प्राप्त गरेको भेटिएको थियो ।

लामिछानेले आफैंले सुरुमा गोर्खा मिडिया नेटवर्कको सञ्चालक समितिलाई १ लाख ८० हजार कित्ता सेयर खरिद गर्न चाहेको जानकारी गराउँदै पत्राचार गरेका थिए ।

‘उपरोक्त सम्बन्धमा यस (गोर्खा मिडिया नेटवर्क) प्रालिको सेयरहरु बिक्रीमा छन् भन्ने जानकारी आएको र मेरो पनि यस प्रालिमा १८०,००० थान सेयरमा लगानी गर्ने इच्छा भएकाले उक्त सेयर खरिद गर्न अनुमति पाउनको लागि यो निवेदन लिई आएको छु,’ लामिछानेले गोर्खा मिडिया नेटवर्कको सञ्चालक समितिलाई लेखको पत्रमा भनिएको छ, ‘निवेदन माग बमोजिम यस प्रालिको बिक्रीमा रहेको सेयर मध्ये १८०,००० थान सेयर खरिद गर्न अनुमति पाउँ ।’

गोर्खा मिडियाको सञ्चालक समितिमा सेयर खरिद गर्न निवेदन दिएपछि २०७७ चैत २५ बसेको सञ्चालक समितिको बैठकमा लामिछाने आमन्त्रीत सदस्यको रुपमा सहभागी समेत भएका थिए ।

लामिछाने आमन्त्रित सदस्य भएर सहभागी भएको बैठकले लामिछानेलाई उनको माग बमोजिम सि.न. १०२०००१ देखि १२००००० सम्मको जम्मा १ लाख ८० हजार थान सेयर ब्रिक्री गर्ने निर्णय गरेको थियो ।

गोर्खा मिडिया नेटवर्कले लामिछानेलाई सेयर ब्रिक्री गर्ने निर्णय गर्नु अघि नै २०७७ चैत १८ गते लामिछानेको नाममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले २ करोड रुपैयाँ व्यापार कर्जा जारी गरेको थियो ।

गोर्खा मिडियाका अध्यक्ष जिबी राई समेतको नियन्त्रणमा रहेको सुप्रिम सहकारीले लामिछानेको नाममा जारी भएको २ करोड कर्जा मध्ये १ करोड ९६ लाख ग्लोबल आइएमई बैंकको भौचरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरिएको थियो।

उक्त भौचरमा रकम जम्मा गर्न लगाउने व्यक्तिको नाम रवि लामिछाने उल्लेख थियो ।

लामिछानले २०७७ माघ ११ गते गोर्खा मिडियामा आफ्नो सेयर स्वामित्व रहने सार्वजनिक कार्यक्रममा बताएका थिए ।

गोर्खा मिडियाको सेयर आफ्नो नाममा ल्याउन लामिछानेले सुप्रिम सहकारीबाट लिएको ऋण प्रयोग गरेको देखिएको छ ।

कुनै पनि कम्पनीको सेयरधनी बन्न उक्त कम्पनीमा पैसा बुझाउनु पर्छ । कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले कम्पनीलाई पैसा नबुझाए पनि सेयर धनी बन्न सक्ने बाटो दिएको छ ।

लामिछानेले कम्पनीमा पैसा नबुझाई आफूले ‘स्वेट’ सेयर प्राप्त गरेको संसदलाई जानकारी गराए पनि कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले तोकेको प्रावधानहरु पूरा गरेका छैनन् ।

गत फागुनमा लामिछानेले ‘स्वेट’ सेयर लिएको भन्दै पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसपछि लामिछानेले कानुनी प्रकृया पूरा गर्न मात्रै आफूले कारोबार गरेको जस्तो देखाएको र आफूले ग्यालेक्सी टिभीमा पैसा पनि नदिएको र पैसा पनि नलिएको बयान दिएका थिए ।

गत जेठ ६ गते संसदमा फेरि लामिछानेले स्वेट सेयर लिएको बयान दिए । तर, कम्पनी ऐनका सर्तपूरा नगरी हचुवामा लामिछानेले स्वेट सेयर लिएको बयान दिए ।

‘पैसा नबुझाए पनि सेयरधनी बन्न सकिन्छ’

यसैगरी कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले कम्पनीमा पैसा नबुझाए पनि सेयरधनी बन्न सक्ने परिकल्पना गरेको छ ।

‘सेयर बाँडफाँट हुँदा कुनै सेयरको मूल्य नगद बाहेक अन्य तवरबाट पूर्ण वा आंशिक रुपमा भुक्तानी गरिएको भएमा सेयर बाँडफाँटबाट सो सेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई सेयर बिक्री वा सेवाको करार वा अन्य के कस्तो के प्रतिफल बापत सेयर बाँडफाँट भएको हो सो सम्बन्धी लिखत र बाँडफाँट गरिएको सेयर संख्या तथा त्यस्तो सेयरको अंकित मूल्य र कति हदसम्म सेयरको मूल्य चुक्ता भएको मानिने हो सोको विवरण समेत कम्पनीले कार्यालयमा पठाउनु पर्नेछ,’ ऐनको दफा ३१ को उपदफा २ मा भनिएको छ ।

स्वेट सेयरको रुपमा कम्पनीमा सेयर प्राप्त गर्न जति रकमको सेयर प्राप्त गर्न लागिएको हो त्यसलाई आयमा देखाउँदै कर तिर्नु पर्छ ।

लामिछानेले गोर्खा मिडियामा १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर प्राप्त गर्दा १ करोड ८० लाख रुपैयाँलाई आय मान्दै आयकर अनुसार १ करोड ८० लाख रुपैयाँको कर तिरेको भए स्वेट सेयर प्राप्त गरेको मानिन्थ्यो । तर, उनको सेयर लगत किताबमा सेयरको मूल्य नगद बाहेक अन्य तवरबाट पूर्ण वा आंशिक रुपमा भुक्तानी गरिएको उल्लेख छैन ।

आयकर ऐन अनुसार १ करोड ८० लाख रुपैयाँलाई आय मान्दा ५० लाख रुपैयाँ भन्दा बढी आयमा कानुन अनुसार ३९ प्रतिशतसम्म कर तिर्नु पर्दथ्यो ।

तर, गोर्खा मिडियाको सेयर लगतमा लामिछानेले पैसा तिरेर सेयर प्राप्त गरेको पुष्टि भएको छ ।

रविमाथि कानुन बमोजिम कारबाही गर्न सिफारिस

त्यस्तै संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ८५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ ।

सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ ।

प्रतिवेदनमा खातावाल हस्ताक्षरकर्ता, जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्ने उल्लेख गरिएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु