चीन-भारतको बढ्दो विकासले नेपाली राजनीतिमा पश्चिमा दृष्टिकोणको असर: एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तमा आधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरु गर्नुपर्ने बताएका थिए । यस्तै नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा चीन र भारत अगाडि आइरहेको पनि उनको टिप्पणी थियो ।

‘बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान् तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरु गर्नुपर्छ भन्ने लाग्छ । त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा हाम्रा दुई वटा छिमेकीहरु अगाडि आउन खोजिरहेका छन् । चीन र भारत । र स्वभाविक रुपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ,’ नेता पोखरेलले भने ।

यस क्रममा उनले अब नेपालले पश्चिमको आँखाबाट नभएर एशियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्ने बताएका थिए । र सोही अनुरुप योजना बनाउनुपर्ने उनको भनाइ थियो ।

‘नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढाउने सम्भावनाहरू देखापरेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ,’ पोखरेलले भने ।


क्लिकमान्डु