मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा



एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार राजधानी नयाँदिल्लीस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै केजरीवालले यस्तो घोषणा गरेका हुन् ।

साथै जनताले ‘इमान्दारिताको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने पनि घोषणा गरेका छन् । ‘जेलबाट रिहा भएपछि म अग्निपरीक्षा दिन चाहन्छु । जनताले इमान्दारिता र निष्ठाको प्रमाण दिएपछि मात्र मुख्यमन्त्रीको कुर्सीमा बस्नेछु,’ नेता केजरीवालले भनेका छन् ।

यससँगै उनले दिल्लीको विधानसभा चुनाव आगामी नोभेम्बरमै गर्न पनि सरकार समक्ष माग गरेका छन् । जवकि दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

दिल्लीमा मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका केजरीवाललाई गत शुक्रबार सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै केजरीवाल रिहा भएका हुन् । केजरीवालले त्यसअघि नै आफ्नो गिरफ्तारीविरुद्ध पुनरावेदन दिएका थिए । केजरीवालको व्यक्तिगत स्वतन्त्रतालाई मध्यनजर गर्दै धरौटीमा छाडिएको अदालतको आदेशमा उल्लेख थियो ।

केजरीवालको राजीनामाको घोषणलाई लिएर सत्तारुढ दल भाजपाका नेताहरुले भने सस्तो प्रचारवाजीको संज्ञा दिएका छन् । भाजपाका प्रवक्ता प्रदीप भण्डारीले नै केजरीवालले स्टन्ट गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।


क्लिकमान्डु