पाँचौं संस्करणको पूर्वाधार सम्मेलन सुरु



काठमाडौं । पाँचौं संस्करणको नेपाल पूर्वाधार सम्मेलन राजधानीमा सुरु भएको छ । नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको पूर्वाधार सम्मेलनको यसपालीको संस्करण राजधानीको सोल्टी होटलमा सुरु भएको हो ।

सम्मेलन दुई दिनसम्म चल्नेछ । परिसंघले यसअघि सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण आयोजना गरिसकेको छ ।

यो संस्करणको पूर्वाधार सम्मेलनको आयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ एवं लगानी बोर्डको कार्यालय र वाईसीएनसी सहआयोजक रहेका छन् ।

रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना भएको हो । सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गरिएको हो । पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुँदैछ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने छ ।

लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरु पूर्वाधार सम्मेलनमा पनि राखिएको छ । सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल भइरहेको छ ।

सम्मेलनमा क्षेत्रीय यातायात, उर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुँदैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका छन् । सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, नेपाल राष्ट्र बैंकका गभर्नरको सहभागिता रहेको छ भने विभिन्न महानगरपालिकाहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरुबाट प्रस्तुती रहेको छ ।

सम्मेलनको टाइटल स्पोन्सर बीवाईडी रहेको छ भने को स्पोन्सर (बिल्ट एन्ड ट्रस्ट) मा शिवम् सिमेन्ट रहेको छ ।


क्लिकमान्डु