योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाउने निर्णय सभामुखले गरेपछि संसदमा अवरोध



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले ‘हिंसा’ शब्दलाई संसद्‍को रेकर्डबाट हटाउन माग गर्दै विरोध जनाएका छन् ।

यसअघि एमालेका सांसद योगेश भट्टराईले पटक पटक ‘माओवादी हिंसा’ भन्ने शब्द उल्लेख गरेपछि माओवादीका सांसदहरुले विरोध जनाएका थिए । तर सभामुखले उक्त शब्दलाई हेरेर सचिवालयले निर्णय गर्ने जनाएका थिए ।

आज बुधबार भने सभामुखले संसद्‍को शब्द कायम राख्ने निर्णय गरेपछि माओवादीका सांसदहरुले विरोध जनाएका हुन् । सांसद देवेन्द्र पौडेलले भने,’यो शब्द संविधानको कुन धारा उपधारामा उल्लेख छ ? संविधान विपरीत जाने छुट कसैलाई पनि छैन । अन्तर्राष्ट्रिय समुदायले माओवादी जनयुद्धलाई मान्यता दिइसकेको छ । माननीयज्युहरुले अझै बल्झाउनुभएको छ । यसले शान्ति प्रक्रिया बिथोलिन्छ ।’

यस्तै माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसदमा माओवादीको जनयुद्धलाई होच्याउने काम भएको र संविधानविपरीत भएको भन्दै उक्त शब्द हटाउन माग गरेका थिए । अन्यथा संविधान नै सच्याउनु पर्ने भन्दै माओवादी सांसदहरु आक्रोशित बनेका छन् ।


क्लिकमान्डु