पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध धनन्जय रेग्मीको रिट कुमार चुडालको इजलाशसमा




काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध पूर्वसीईओ डा. धनन्जय रेग्मीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलाशमा परेको छ ।

चुडालको इजलाशको चौथो नम्बरमा रहेको रिटमाथि सुनुवाईको पालो आजै आउने छ । उक्त इजलाशको तेस्रो नम्बरसम्मका मुद्दाको पालो आइसकेकाले रेग्मीको मुद्दोको पनि आजै पालो आउने भएको छ ।

बोर्डका पूर्वसीईओ डा रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिश भएको व्यक्ति (आफू)लाई नियुक्त नगरेर कम नम्बर ल्याउनेलाई नियुक्त गरेको भन्दै सीईओ नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।

रेग्मीले दीपकराज जोशीलाई नियुक्त गरेको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मंगलबार रिट निवदेन दिएका थिए ।

नेपाल पर्यटन बोर्डको सीईओमा दोस्रो नम्बरमा रहेका दीपकराज जोशीलाई नियुक्ति गरेको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर परेको हो। रिटमा रेग्मीले आफू पहिलो नम्बरमा रहेको दाबी गरेका छन । तर वरियतामा दोस्रो नम्बरमा रहेका व्यक्तिलाई अंक लुकाउँदै नियुक्ति गरेको आरोप लगाउँदै उक्त नियुक्ति बदरको माग रेग्मीले दायर गरेको रिट निवेदनमा उल्लेख ।

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् ।

गत बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको थियो ।

पर्यटन बोर्डका पूर्व सीईओ डा रेग्मीले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटन बोर्डका अध्यक्ष पर्यटन सचिव तथा बोर्ड सदस्यहरु इन्दु घिमिरे, मदन आचार्य, मिलन देवकोटा र प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई विपक्षि बनाएर रिट निवेदन दिएका छन् ।

२० भदौमा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैंठकमा दीपकराज जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वरप्रसाद सिंह महतोलाई सीईओमा सिफारिश गर्दा पहिलो नम्बरमा रहेको व्यक्तिलाई नियुक्त नगरे दोस्रो नम्बरमा रहेकोलाइ नियुक्त गरेको भन्दै रेग्मी असन्तुष्ट थिए


क्लिकमान्डु