आईफोन-१६ सार्वजनिक, यस्ता छन् फिचर



एजेन्सी । एप्पलले वहुप्रतिक्षित आईफोनको १६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गरिएको थियो ।

इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टमा एप्पल वाच सिरिज-१०,एप्पल वाच अल्ट्रा २, एयरपड-४, एयरपड म्याक्स साथै आईफोन-१६ का सबै सिरिज सार्वजनिक गरिएको हो । जहाँ आईफोन-१६, आईफोन १६ प्लस,आईफोन १६ प्रो र आईफोन प्रो म्याक्स लन्च गरिएको हो ।

यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले १६ को सिरिज सार्वजनिक गर्ने मितिका विषयमा फरक फरक मिति दाबी गरेका थिए ।

आईफोन १६ सिरिजका प्रमुख फिचर

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का केही क्षमतासहित यसपटक नयाँ सिरिजमा एप्पल इन्टेलिजेन्सको पनि प्रयोग गरिएको छ । यसलाई एप्पलका उच्च अधिकारीहरुले नयाँ यात्रा भनी प्रशंसा गरेका छन्।

तर उक्त एप्पल इन्टेलिजेन्स बिटा भर्जनमा केही देशमा उपलब्ध हुनेछ । आईफोन १६ को स्क्रिन साइज ६.१ इन्चको छ । जवकि आईफोन १६ प्लसको स्कृन साइज ६.७ इन्चको छ । यस्तै आईफोन १६ प्रोको स्कृन साइज ६.३ इन्चको हुन्छभने प्रो म्याक्सको साइज ६.९ इन्चको हुन्छ ।

यससँगै आईफोन १६ प्रोम्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन पनि हो । यस्तै क्यामेरा कन्ट्रोल फिचरमा भने नयाँ एक्सन बटन जडान गरिएको छ । साथै चिपसेटको सन्दर्भमा नयाँ सिरिजमा ए१८ चिपसेट उपलब्ध गराएको छ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० फ्रेम प्रति सेकेन्ड गुणस्तरको भिडियो रेकर्ड गर्न सक्छ ।


क्लिकमान्डु