सुरुभयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम, सन् २०२० मा पुरा हुने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ ।
कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।
आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ ।
विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप–प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्तरुपमा विमानस्थलको शिलान्यास गरेका थिए ।
चीनको एक्जीम बैंकको करिब २१ अर्ब रुपैयाँको ऋण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । रासस