सांसद कार्कीको आक्रोश: माननीयहरु झगडा गरेको देखेर मेरो दिमाग तात्यो !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरु एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । नेताहरु झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको भन्दै कार्कीले आक्रोश व्यक्त गरेकी थिइन् ।

अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पुर्‍याएको भन्दै उनले भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भन्दै प्रश्न समेत गरेकी थिइन् । यस क्रममा उनले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले हो–हल्ला गर्नु गलत भएको पनि बताइन् ।

‘अहिलेसम्म ठूला दलहरु मिलेर नै यो देशलाई यतिसम्म पुर्‍याउनुभएको छ । बिगार्नु भयो कि सुधार्नुभयो ? तपाईँहरुले आफ्नो छातिमाथि हात राखेर भन्नुस् । के गर्नुभयो तपाईँहरुले अहिलेसम्म ? देशका ठूल्ठूला उद्योगधन्दाहरु कहाँ गए ? भ्रष्टाचारका मुद्दाहरु यसरी किन लागिरहेका छन् ? भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एउटाले अर्कोलाई दोषारोपण गर्ने ?’ सांस कार्कीले प्रश्न गरिन् ।

गौरा पर्वमा भएको होहल्लाले संस्कृतिको अपमान भएको पनि उनको गुनास थियो । तर संसदमा नेताहरुले केटाकेटीको जस्तो व्यवहार देखाए झगडा गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।

उनले भनिन्,’के गर्नु अलिकति दिमाग पनि तारेर आयो । कहिलेकाहीँ त प्रेसर पनि बढेर आउँछ । यत्रा ठूला–ठूला, बुढा–बुढा दिग्गज माननीयहरुले केटाकेटीको जस्तो व्यवहार गरेको देखेर । बाझेको छ । झगडा गरेको छ । उफ्रिएको छ । कराएको छ ।’ सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउन नहुने पनि बताएकी थिइन् ।


क्लिकमान्डु