गौरापर्व बिथोल्नेहरुलाई देउवाले भने: कुन तत्व छ यहाँ ?, कारबाही गर्नुपर्छ



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वमा नाराबाजी गर्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् । काठमाडौंमा आएर गौरा पर्व बिथोल्नेहरुलाई काठमाडौंवासीले ठीक पार्नुपर्ने भन्दै नेता देउवा आक्रोशित बनेका थिए ।

सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘यहाँ गौरा पर्व सुन्न आएकाहरु छन् । धेरै साथीहरु देउडा खेल्न आएका छन् । गौरा पर्व सुन्न दिँदैनन् । न गौरा खेल्न दिन्छन् । यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन् । यसको पछाडि को छ ? को तत्व छ ? त्यसलाई यहाँका जनताले ठीक पार्नुपर्छ भन्ने मलाई विश्वास छ ।’

सोमबार दिउँसो गौरापर्वलाई सम्बोधन गर्न टुंडीखेल पुगेका प्रधानमन्त्रीसहित केही मन्त्रीहरु र नेताहरुलाई लक्षित गर्दै युवाहरुले नाराबाजी गरेका थिए । यस क्रममा नेता देउवाले आक्रोशित हुँदै यसरी नाराबाजी गर्नु नेपालीपन नभएको भन्दै आपत्ति जनाएका थिए ।

साथै यसरी नाराबाजी गरिनुको पछाडि कसैको हात रहेको भन्दै उनले त्यसप्रति आक्रोश व्यक्त गरेका थिए । र कुन तत्वको हात रहेको छ त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने पनि उनको भनाइ थियो ।

‘सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत भारतको केही जिल्लाहरु आउनुभएको छ । आदरणीय दाजुभाई दिदिबहिनीहरु, यस्तै छ । आदरणीय दाजुभाई दिदिबहिनीहरु । अहिले यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरुमा मनाइन्छ । यो अत्यन्तै महत्वपूर्ण चाडपर्व हो यसले यस्ता आयामहरुले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको छ,’ देउवाले भनेका थिए ।

सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने भएकाले यसको महत्त्व हराउन दिन नहुने बताए ।


क्लिकमान्डु