दुग्ध किसानको भुक्तानीबारे सम्झौता हुँदैन: कृषिमन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको दूध वापतको रकमको भुक्तानीको सवालमा आफूले कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानले उधारोमा दूध दिने डेरी तथा उधोगीले नगदमा बिक्री गर्ने र उक्त रकम उद्योगीले अन्यत्र लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

दूध किसानको समस्या समाधान गर्नेतर्फ आफू केन्द्रित भएको भन्दै मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडीसी) मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको पनि जानकारी दिए ।

निजी डेरीलाई किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले रसायनिक मलको रकम केही समयको लागि परिचालन गर्न अर्थ मन्त्रालयसँग छलफल गरेको बताए ।

तर अर्थमन्त्रालय रकमान्तर गरेर उक्त रकम उपलब्ध गराउन तयार नभएको उनले जानकारी दिए । किसानले गाई-भैंसी पाल्न छोड्ने अवस्था आउन नदिन सरकारसँगै निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने मन्त्री अधिकारीले बताए ।

दुधको गुणस्तरमाथि पनि ध्यान दिन निर्देशन दिँदै उनले निजी तथा डिडीसीलाई उपभोक्ताले बहिष्कार गर्ने अवस्था आउन नदिने गरी काम गर्न सुझाव दिए । छ्लफलमा मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले दुधको उत्पादन बढ्दै जाँदा यसको व्यवस्थापन गर्ने विषय अहिले चुनौतीको रुपमा खडा भएको बताए । यो विषयमा अध्ययन गर्न सचिव मिश्रले बोर्डलाई निर्देशन दिएका छन् ।


क्लिकमान्डु