प्राधिकरण भारत बिजुली निर्यात गर्ने ध्याउन्नमा, सुनसरी- मोरङ औद्योगिक क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ



विराटनगर । नेपाल विद्युत प्राधिकरणले वर्खामा सरप्लस भएको भन्दै ७०० मेगावाटसम्म बिजुली दैनिक भारत निर्यात गरिरहेको छ । तर कोशी प्रदेशको प्रमुख औद्योगिक क्षेत्रका उद्योगले भने अघोषित लोडसेडिङको मार खेपिरहेका छन् ।

सुनसरी र मोरङ औद्योगिक करिडोरका उद्योगीले दैनिक कम्तीमा ६ घण्टा लोडसेडिङ र ट्रिपिङको समस्या खेपिरहेका हुन् । लोडसेडिङ कारण यस क्षेत्रका उद्योगले ३० प्रतिशतसम्म उत्पादन कटौती गर्नु परेको उद्योगीहरुको गुनासो छ ।

प्राधिकरणले सुक्खायाममा सुनसरी मोरङ ‍औद्योगिक क्षेत्रका उद्योगलाई सामाजिक सञ्जालमार्फत विद्युत कटौती हुने सूचना सम्प्रेषण गर्दै दैनिक ८ घण्टासम्म बिजुली कटौती गर्दै आएको थियो ।

सुक्खायाँममा प्राधिकरणले उद्योगीलाई सामाजिक सञ्जालमार्फत सूचना दिएर हरेक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै आएको थियो ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले वर्षायाममा प्रशस्त विद्युत उत्पादन भए पनि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगमाम दैनिक कम्तीमा ६ घण्टा विद्युत कटौती हुँदै आएको क्लिकमान्डुसँग बताए । जसका कारण करिडोरका हरेक उद्योगले ३० प्रतिशतसम्म उत्पादन कटौती गर्दै आएको राठीको भनाइ छ ।

करिडोरमा ६ सयभन्दा बढी साना-ठूला उद्योग छन् । सुक्खायाममा सामाजिक सञ्जालमा सूचना पठाएर प्राधिकरणले अघोषित रुपमा औद्योगिक‍ क्षेत्रमा ८ घण्टा लोडसेडिङ गर्दै आएको थियो । वर्षायाममा प्रसस्त विद्युत उत्पादन भएर भारतलाई बिक्री गर्ने अनि स्वदेशका उद्योगमा सूचना बिनै अघोषित लोडसेडिङ कायमै राख्दा उद्योगीका लागि अन्याय भएको राठीको गुनाँसो छ ।

प्राधिकरणको यो विभेद विरुद्ध उद्योगी सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी छ । यसअघि पनि विराटनगरका उद्योगी नियमित विद्युत आपूर्तिको माग गर्दै पटक पटक सडकमा उत्रिँदै आएका थिए ।

स्वदेशी उद्योगलाई आवश्यक विद्युत उपलब्ध नगरी भारत निकासी गर्नु प्राधिकरणको नियतमै खोट भएको उद्योगीको आरोप छ । राठीले स्वदेशमा आवश्यकता अनुसार विद्युत उपलब्ध गराएपछि बढि भएको विद्युत मात्र निर्यात गर्न प्राधिकरणलाई सुझाव दिए ।

अनियमित विद्युत आपूर्तिले सबैभन्दा बढि फलाम र प्लाष्टिक उद्योग मारमा परेको प्रिमियर स्टील उद्योगका सञ्चालक तथा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाको दुखेसो छ ।

उद्योगमा यतिखेर पटक पटक गरेर दैनिक ५–६ घण्टा अघोषित लोडसेडिङ छ । पटक पटक विद्युत आपूर्ति कटौती हुँदा उत्पादनको प्रक्रियामा रहेको कच्चा पदार्थ रिसाइकल गर्दा एकै पटकमा २५ प्रतिशतसम्म उत्पादन लागतमा वृद्धि हुने गरेको सारडाको दाबी छ ।

यस करिडोरमा पशुपति, हुलास, मैनावत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्ससहित आधा दर्जनभन्दा बढी ठूला फलाम उद्योग छन् । अनियमित विद्युत आपूर्तिले ती उद्योग मारमा परेको उनको भनाइ छ ।

अहिले पनि दैनिक ५–६ घण्टा अघोषित लोडसेडिङका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रको औद्योगिक वातावरण अस्तव्यस्त बनेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले वताए ।

सुनसरी–मोरङ औद्योगिक करिडोर भित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । यी क्षेत्रमा फरक फरक फिडरबाट विद्युत वितरण हुन्छ ।

लोडसेडिङले सबैभन्दा बढी फलाम, सिमेन्ट, जुट र प्लाष्टिक उद्योग प्रभावित भएका छन् । ‘लोडसेडिङका कारण ती उद्योगको पाटपुर्जा बिग्रनेदेखि कच्चा पदार्थ खेर जानेसम्म समस्य छ । प्राधिकरणले विद्युत भारत निर्यात गर्ने तर स्वदेशी उद्योगले अघोषित लोडसेडिङको मार खेप्नु पर्ने नियती नै बनेको छ,’ राठीले भने ।

नेपालका उद्योगको लागि जेनेरेटर चलाउनुभन्दा बिजुली नै धेरै सस्तो पर्छ । डिजेलबाट जेनेरेटर संचालन गर्दा प्रतियुनिट ३६ रुपैयाँसम्म खर्च हुन्छ । त्यसैले जेनरेटरबाट उद्योग संचालन गर्न सक्ने स्थिती नरहेको उनको भनाइ छ । यस करिडोरमा पशुपति, हुलास, मैनावत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्स सहित आधा दर्जनबढी ठूला फलाम उद्योग छन् ।

तर विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख उमेशकुमार झाले पूर्वमा कहीँ पनि लोडसेडिङ नभएको दाबी गरे । ‘कसैले लोडसेडिङ छ भन्छन् भने त्यो हास्यास्पद हो,’ उनले भने, ‘ यो आरोपका लागि आरोप मात्र हो ।’

उनकाअनुसार इनरुवा–ढल्केबर ४ सय केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कोशी प्रदेशमा विद्युत आपूर्तिको समस्या नै छैन । पूर्वमा सबै गरेर हाल ३ सय ५० मेगावाट विद्युतको माग हुँदा प्राधिकरणलाई ४ सय मेगावाट भन्दा बढि उपलब्धता भएको अवस्थामा लोडसेडिङ छ भन्नु हास्याँस्पद भएको उनको दाबी छ ।

उनकाअनुसार यसवेला पूर्वमा मात्र करिब अढाई सय मेगावाट विद्युत उत्पादन छ । उनले प्रसारण लाइन र पावर हाउसमै समस्या आउँदा दुई तीन घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको हुन सक्ने बताए ।

उद्योग संगठन मोरङले सुक्खायाँममा गरेको अध्ययन अनुसार औद्योगिक करिडोरमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ भएको थियो । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक सम्म ट्रिपिङ भएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले बताए । उनका अनुसार प्राधिकरणले उद्योगीलाई गर्ने व्यवहारको प्रवृत्ति परिवर्तन भएको छैन ।


विनोद भण्डारी