गठ्ठाघर दुर्घटनापछि फरार ट्रक चालक पक्राउ



काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसोको दुर्घटनापछि फरार भएका ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सतेन्द्र श्रेष्ठ स्कुटरलाई ठक्कर दिएर फरार भएका थिए । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय श्रेष्ठलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

श्रेष्ठले चलाएको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि स्थानीयहरु आन्दोलित बनेका थिए ।

बिहीबार दिउँसो सडकमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदै लतारेर केही मिटरसम्म पुर्‍याएको थियो । त्यस क्रममा मृतकको शरीरका अंगहरु क्षतविक्षत अवस्थामा असरल्ल बनेका थिए । दुर्घटनापछि स्थानीयहरुआन्दोलित बन्दा बिहीबार दिनभर गठ्ठाघर चोक अशान्त बनेको थियो ।

स्थानीय र प्रहरीको झडप समेत भएको थियो । प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । बिहीबार साँझ प्रहरीले मृतकको शव लिएर पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगेको छ ।


क्लिकमान्डु