शेख हसिना सरकारलाई मोहम्मद युनुसको टिप्पणी- राक्षस गइसक्यो !



एजेन्सी । देशै छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना एक सातादेखि भारतमै शरण लिएर बसिरहेकी छन् । त्यहाँबाट बेलायत जाने तयारीमा रहे पनि अनुमति नपाउने भएपछि उनले भारत छाड्‍न सकेकी छैनन् ।

अगस्ट ५ मा राजधानी ढाकालाई प्रदर्शनकारीहरुले लगभग कब्जा गरेपछि हसिनाले भारतीय अधिकारीहरुसँग परामर्श गर्दै शरणका लागि अनुमति मागेकी थिइन् ।

यसबारे भारतीय विदेशमन्त्री एस जयशंकरले पनि जानकारी दिइसकेका छन् । जयशंकरले हसिनालाई शरण दिएको विषयमा संसद्‍मा पनि जानकारी गराइसकेका छन् ।

यसबीचमा हसिनाले पनि विदेशी शक्तिका कारण बंगलादेशबाट आफू भाग्नुपरेको दाबी गरेकी छन् । यद्यपि उनी कहाँ र कस्तो अवस्थामा छिन् भनेर भारत सरकारले सार्वजनिक गरेको छैन । तर भारत सरकारले उनलाई सुरक्षा दिइरहेको छ ।

जवकि बंगलादेशमा अन्तरिम सरकार गठन भइसकेको छ । हसिना भागेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई त्यहाँ अन्तरिम सरकारको प्रमुख बनाइएको छ ।

तर पछिल्लो समय हसिनालाई शरण दिएकै घटनाले दुई छिमेकी राष्ट्र भारत र बंगलादेशबीच सम्बन्धमा असर पर्ने आशंका पनि गर्न थालिएको छ । बंगलादेशमा हालै गठन भएको अन्तरिम सरकारलाई हसिनाले विदेशी शक्तिको बलमा बनेको भन्दै आरोप लगाइरहेकी छन् ।

यस्तैमा भारत सरकारले पनि बंगलादेशको विशाल प्रदर्शन र गठन भएको अन्तरिम सरकारलाई खुलेर सहयोग नगरेको भन्दै कतिपयले पछिल्लो घटनाक्रमले दुई देशको सम्बन्धमा तिक्तता ल्याएको पनि टिप्पणी हुने गरेको छ ।

त्यसो त बंगलादेशमा नयाँ सरकारले हिन्दु समुदायमाथि विभेद र वहिष्कार गरेको भन्दै आलोचना पनि सुरु भएको छ । बंगलादेशबाट हसिना भागेपछि अन्तरिम सरकारमा महिला र हिन्दु समुदायको प्रतिनिधित्व पर्याप्त रुपमा नभएको भन्दै बंगलादेशको अन्तरिम सरकार आलोचित छ ।

हसिनाको सरकारलाई लक्षित गर्दै मोहम्मद युनुसले भने-राक्षस गइसक्यो

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हालै शेख हसिनाको सरकारलाई लक्षित गर्दै एक प्रतिक्रिया दिए, ‘राक्षस गइसक्यो ।’

ढाकास्थित जमुना स्टेट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै युनुसले यस्तो प्रतिक्रिया दिएका थिए । उनले हसिनाको नाम नलिइकन हसिना सरकारलाई ‘मन्स्टर’ अर्थात राक्षसको संज्ञा दिएका थिए ।

‘अन्तत: यो अवसर आयो । राक्षस गइसक्यो,’ युनुसले भनेका थिए, ‘म यसकारण सरकारको नेतृत्व गरिरहेको छु किनकि यो देशमा युवाहरुको चाहना थियो । र म उनीहरुलाई सहयोग गर्न चाहन्छु । यो मेरो सपना थिएन । यो त उनीहरुको सपना थियो । एक हिसावले म उनीहरुको सपनालाई यथार्थमा परिवर्तन मद्दत गरिरहेको छु ।’

बंगलादेशमा सर्वमान्य नेताको रुपमा चिनिएका अर्थशास्त्री युनुस तिनै व्यक्ति हुन्, जसलाई शेख हसिना प्रधानमन्त्री छँदा श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिनासम्म हिरासतमा राखेकी थिइन् ।


क्लिकमान्डु