नेपाल टी च्यालेन्ज २०२४ आयोजना हुँदै



काठमाडौं । नेपाली चियाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा टी च्यालेन्ज २०२४ आयोजना हुने भएको छ ।

सरकारी स्वामित्वको नेपाल चिया तथा कफी विकास बोर्डको सहकार्यमा ईलाम फिक्कलको टी स्टेशनले यो कार्यक्रमको आयोजना गरेको हो । यो च्यालेन्ज आगामी भदौ ११ गते ठमेलस्थित छायाँ कम्प्लेक्समा आयोजना हुन लागेको छ ।

कार्यक्रमअन्तर्गत सीटीसी, अर्थोडक्सलगायत नेपालमा उत्पादन हुने अन्य प्रकारको चियाको ठूलो तथा साना बिक्रेता र खरिदकर्ताबीच छलफल, बजारको पहुँचलगायतका गतिविधि सञ्चालन हुनेछ । कार्यक्रममा नेपालका ख्यातिप्राप्त होटेल तथा रेष्टुँराको साथै चियासम्बन्धी अन्तर्राष्ट्रिय बिज्ञहरुको सहभागिता हुने जनाइएको छ ।

च्यालेन्जअन्तर्गत नेपालको ख्यातीप्राप्त ब्राण्डको चिया उत्पादकबीच चियाको गुणस्तर, स्वाद र बास्नाको बारेमा प्रतिस्र्पधा गराइनेछ । प्रतिस्र्पधामा उत्कृष्ट ठहरिएका चियाको अक्सन सेन्टर सञ्चालन गरि वोलकवोल मूल्यमा चियासमेत बिक्री गरिनेछ । यस्तो प्रतिस्र्पधाको जजमेन्ट भारतको प्रख्यात टी टेस्टर सुस्मिता दास गुप्ता र अजित सेन तथा जोन टेलरले गर्नेछन् ।

गुप्ता भारतीय चिया स्वाद विद्यालयका मालिक हुन् । यस्तै भारत कोलकात्ताको सेन पछिल्लो ४० बर्षदेखि चियाको स्वाद लिएर गुणस्तर परीक्षण गर्दैआएका छन् । त्यसैगरी टेलर अन्तर्राष्ट्रिय चिया टेस्टर हुन् । टेलरलाई नेपाली चियाको प्रवद्र्धक रुपमा पनि चिनिन्छ ।

उनीहरुले गर्ने जजमेन्टको आधारमा उत्कृष्ट गुणस्तर र स्वाद भएको चिया उद्योगलाई पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त कार्यक्रमको प्रस्तुती वल्र्ड टी एक्सपो २०२४ लस भेगासको उपाधी प्राप्त गरेका व्यक्तिले गर्ने बताइएको छ ।


क्लिकमान्डु