बागमतीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन सरकारको आग्रह



काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको हो ।

नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बसोबास गर्नेहरुले साँझ ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागले यसअघि बिहान बिहान ३ बजेर ३० मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

यद्यपि सरकारले बागमती नदी किनारका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्नका लागि कुनै बन्दोबस्त गर्न सकिरहेको छैन । मंगलबार बिहानैदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका सडकहरु जलमग्न हुनुका साथै कतिपय स्थानमा बाढी पसेर त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

हरेक वर्ष मनसुनको समयमा भारी वर्षा हुँदा काठमाडौंका साँघुरा गल्लीमा बाढी पस्ने गरेको हुन्छ । साथै नदी किनारका बस्तीहरु प्रभावित हुने गरेका छन् ।

जल तथा मौसम विभागले अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै वर्षा र बाढीपहिरो आउने सम्भावना रहेको जनाएको छ । केही प्रदेशका सीमित बस्तीहरुमा बाढीपहिरोको जोखिम बढेको भन्दै विभागले सतर्क रहन सूचित गरेको छ ।


क्लिकमान्डु