काठमाडौंमा बाढीको वितण्डा: १ सयको उद्धार, एक जनाको मृत्यु (तस्बिरहरु)



काठमाडौं । रातभरको अविरल र्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् ।

वर्षाले राजधानीको बागमती किनार क्षेत्र डुबानमा परेको छ । बागमती नदी किनार क्षेत्र टेकु, युएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र आसपासका घरहरु डुबानमा परेको हो । त्यस्तै कुलेश्वर व्यापार संघ चोक क्षेत्रका घर तथा गोदाम डुबानमा परेका छन् ।

वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हनुमन्तेले भक्तपुर क्षेत्र डुबानमा

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे ।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

कयौंको उद्धार

उपत्यकाका तीन जिल्लाबाट करिब १ सय जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ। त्यस्तै भक्तपुरको बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीइले ५० जनाभन्दा बढीको उद्धार गरेको छ ।

काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

एक जनाको मृत्यु
बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।


क्लिकमान्डु