असल कर्जाको प्रोभिजन १.१ प्रतिशत चालु आवदेखि मात्र !



काठमाडौं । असल कर्जाको १.१ प्रतिशत प्रोभिजन चालु आर्थिक वर्षदेखि मात्र लागु हुने भएको छ । बैंकहरुले आव २०८०/८१ सम्म असल कर्जावापत् १.२ प्रतिशत प्रोभिजन गर्दै आएकामा आव २०८१/८२ देखि १.१ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने भएको हो ।

बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण तयार गर्दे गर्दा असार मसान्तसम्म प्रवाह गरेको कर्जाको १.१ प्रतिशत प्रोभिजन गरे हुने अपेक्षा राखेका थिए । तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको उद्घोष कार्यान्वयन गर्न परिपत्र जारी गर्ने क्रममा यो सुविधा चालु आवदेखि उपलब्ध गराउने गरी परिपत्र गर्न लागेको हो ।

गत आर्थिक वर्षको जेठसम्मको तथ्यांकका अनुसार १.२ प्रतिशत प्रोभिजनवापत बैंक तथा वित्तीय संस्थाले १३ अर्ब २५ करोड रुपैयाँ छुट्याएका छन् । जसअनुसार गत आवदेखि नै प्रोभिजन घटेर १.१ प्रतिशत लागु भए बैंकहरुलाई १.१ अर्ब रुपैयाँ राइटब्याक गर्ने स्पेस थियो । यो रकम बैंकहरुले नाफामा देखाउन पाउँथे । तर, चालु आवदेखि मात्र लागु हुने भएसँगै नाफा बढेर प्रतिफल पनि वृद्धि हुने लगानीकर्ताको आश आशमा मात्र सिमित हुने भएको हो ।


क्लिकमान्डु