संसद्‍मा प्राधिकरणका महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गर्न माग (भिडियो)



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।

प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताए ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर गरे।

सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको र प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिने बताए ।

‘अहिलेका डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन ?,’ उनले भने, ‘हामीले विभिन्न घटनाहरुमा सबैले संसदमा बोल्छौं। यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् । त्यो पछि हामी बिर्सिन्छौं । एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’

विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाइ थियो ।

नेताहरुको खल्तीमा पैसा भर्न डीजी बनाइयो, सांसदलाई थर्काए

सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताए । सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने उनको भनाइ छ ।

लामो समयदेखि आफूहरुले यसबारे बोलिरहेको भए पनि कसैले नसुनेको उनको भनाइ छ । कहिले पनि सेवा प्रदायक र नियामक एउटै नहुने उनले बताए ।

प्राधिकरणमा नेताहरुको खल्तीमा करोडौं भर्नका लागि प्रदीप अधिकारीलाई डीजी बनाएर राखिएको उनको आरोप छ । अधिकारीले संसदीय समितिमा आएर सांसदहरुलाई नै थर्काएर गएको उनको भनाइ छ ।

‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो । तर, पैसाको अगाडि कुनै सांसदको केही लाग्दैन रहेन । नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक पनि हो । कहिले पनि सेवा प्रदायक र नियामक एउटै हुँदैन । नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण एउटै छैन,’ उनले भने, ‘तर, उड्डयन प्राधिकरणमा नेताहरूको खल्तीमा करोडौँ भर्नका लागि त्यहाँ डीजी बनाएर राखिएको छ । उसले समितिमा आएर सांसदहरूलाई नै थर्काएर जान्छ ।’

सांसद सिंहले नेपालीहरू भाग्यले बाँच्नुपर्ने स्थिति रहेको बताउँदै कहिले सडक दुर्घटना त कहिले हवाईजहाज दुर्घटनामा नेपालीहरूले ज्यान गुमाउनु परिरहेको बताए । उनले गरिबहरूको देशमा कोही पनि नरहेको पनि गुनासो गरे । गरिब र धनीबीच मृत्युमा पनि विभेद भएको उनको भनाइ छ ।

‘हवाईजहाज दुर्घटना हुँदा प्रधानमन्त्रीदेखि गृहमन्त्रीदेखि सबेको लर्को लाग्ने । गरिबहरू त्रिशूलीमा बस खसेर मर्दा कोही पनि हेर्न नजाने । यस्तो विभेद छ, गरिब र धनीबीच’ उनले भने ।


क्लिकमान्डु