बक्यौता उठाउने अडानमा प्राधिकरण, कुलमानले भने: टीओडी मिटरको डेटा हामीसँग छ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड फिडर तथा ट्रंक लाईन वक्यौता रकम असुली गर्ने अडान राखेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् ।

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल बक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गरे ।

उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गरे ।  

‘डेडिकेटेड र ट्रंक लाईनमा नियमित आपूर्ति दिन लोडसेडिङको बेलामा हामीले इण्डियाबाट पनि आयात गरेका थियौ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौं । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला,’ उनले भने, ‘तर डेडिकेटेडको पैसा तिर्दा पनि उनीहरुले प्रति युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन । जबकी नर्मल महसुल १३ रुपैयाँ थियो त्यो बेला सर्वसाधरणले तिरेका थिए । । उद्योगीहरुलाई नर्मल महसुल चाहीँ साढे ८ रुपैयाँ हाराहारीमा थियो । । अब ६०÷६५ प्रतिशत प्रिमियम चार्ज हो प्रिमियम चार्ज मात्रै लगाएको हो ।’

घिसिङले दक्षिण एसियामा भूटानबाहेक नेपालको विद्युत सबैभन्दा सस्तो भएको बताए । उनले आफूले प्राधिकरणको नेतृत्व लिएपछि हालसम्म करिब २५ प्रतिशत विद्युत महसुल घटाएको र करिब २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी गरे ।

‘बिल नै दिएको छैन भन्ने विषय हरेक उद्योगलाई हामीले क्याल्कुशलेशन गरेर बिल दिएका छौं । हामीले हरेक टीन वान, टि टु, टि थ्री भनेर हामी इनर्जी कति थियो, उसले कति तिर्‍यो र बाँकि पैसा कति हो ? भनेर हामीले यसरी बिलिङ गरेका छौं,’ उनले भने, ‘टिओडीको पनि आवश्यक डेटा हामीसँग छ । त्यो आवश्यक नै होइन । उहाँहरुलाई यो बिलको लागि त्यो आवश्यक नै होइन ।’


क्लिकमान्डु