एनआइसी एशिया बैंकको पैसा फिर्ता गर्न राष्ट्र बैंकले विदेशी बैंकलाई पत्र पठायो



काठमाडौं । ह्याकरले एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक गरी विभिन्न देशमा पठाएको रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकले पत्राचार गरेको छ । राष्ट्र बैंकले आइतबार विभिन्न देशका केन्द्रिय बैंकलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरेको हो ।

लक्ष्मीपूजाको दिन ह्याकरले स्वीफ्ट ह्याक गरी बैंकको विदेशी खातामा रहेको रकम आफ्नो खातामा सारेका थिए । आइतबार यो घटना थाहा पाएपछि बैंकले राष्ट्र बैंकलाई जानकारी गराएको थियो । बैंकको जानकारी लगत्तै राष्ट्र बैंकको टोलीले बैंकको एनआइसी एशिया बैंकमा गएर विस्तृत जानकारी लिएको थियो ।

राष्ट्र बैंकको टोलीले गरेको स्थलगत अवलोकनमा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङलगायतका देशमा रकम पठाएको फेला परेको छ । यस्तो तथ्य फेला परेपछि राष्ट्र बैंकले आइतबार नै सम्बन्धित देशका केन्द्रिय बैंकलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

‘राष्ट्र बैंकले सम्बन्धित देशका केन्द्रीय बैंकलाई भुक्तानी रोक्का गरी एनआइसी एशिया बैंकको रकम फिर्ता गराउन पत्र पठाइसकेको छ,’ ती अधिकारीले क्लिकमाण्डूसग भने, ‘पैसा फिर्ता हुन्छ, आत्तिनु पर्दैन ।’

ती अधिकारीका अनुसार कतिपय देशमा भुक्तानी भइसकेको पाइएको छ भने कतिपय देशमा भुक्तानी भएको छैन । भुक्तानी भइसकेको रकम सम्बन्धित देशको केन्द्रिय बैंकले फिर्ता गराउने र भुक्तानी हुन बाँकी रहेका देशका केन्द्रिय बैंकले भुक्तानी रोक्नेछन् ।


पुष्प दुलाल