किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

थोकदेखि खुद्रासम्म २०-१३९ प्रतिशतसम्म मूल्य बृद्धि



काठमाडौं । बजारमा भएको मागभन्दा कम परिमाणमा आपूर्ति भएको कारण थोकदेखि खुद्राबजारसम्म तरकारीको मूल्य अत्यधिक बढेको छ ।

कम आपूर्तिकै कारण थोकमै २० प्रतिशतदेखि १३९ प्रतिशतसम्म तरकारीको मूल्य बढेको छ भने थोकबजारबाट खुद्रा बजारसम्म पुग्दा तरकारीमा ८ प्रतिशतदेखि १४१ प्रतिशतसम्म मूल्य बढेको छ ।

यसबाहेक तरकारी उत्पादनदेखि संकलक, थोक बिक्रेता, खुद्रा बिक्रेतालगायतका विभिन्न तहगत ‘बिचौलिया’ संरचनाका कारण पनि मूल्य श्रृंखलामा प्रभाव परेको छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार पछिल्लो समयमा अविरलरुपमा परेको वर्षाका कारण बाटोघाटो अवरुद्ध हुँदा मागअनुसार तरकारीको आपूर्ति हुन सकेको छैन । जसक कारण गत वर्षको साउनको तुलनामा यस वर्ष तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ ।

‘बाढी पहिरोले यातायात अवरुद्ध भएका कारण ठूलो परिमाणमा स्वदेशी तरकारी खेतमै थन्किएर कुहिने क्रम सुरु भएको छ,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले क्लिकमान्डुलाई भने ।

वर्षा याममा उत्पादन हुने तरकारी साउन दोश्रो सातादेखि बजारमा भित्रिन थालेपछि तुलनात्मक रुपमा केही सस्तो हुने गर्दथ्यो।

तर, उनका अनुसार यस पटक तरकारीको मूल्य वृद्धि हुनुमा थप दुई कारण पनि छन् । ‘पहिलो, उत्पादन थलोमै कम उत्पादन भयो र दोस्रो भएको उत्पादन पनि वर्षा र बाढीका कारण गलेर नष्ट भयो । यसले गर्दा बजारको मागअनुसार आपूर्ति हुन सकेन । जसका कारण तरकारीको मूल्य निक्कै बढेको छ ।’

राजधानी काठमाडौंमा भारतबाहेक धादिङ, मकवानपुर, काभ्रे, भक्तपुर र सर्लाहीलगायतका स्थानबाट स्थानीय तरकारी आपूर्ति हुँदै आएको छ ।

बजार अनुगमनको जिम्मेवारी बोकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि मागअनुसार तरकारीको आपूर्ति नहुँदा बजारमा अस्वाभाविक रुपमा मूल्य वृद्धि भएको जनाएको छ ।

‘पछिल्लो समयमा अत्यधिक मूल्य वृद्धि भएको बिषयमा विभागले अनुगमन पनि गरेको छ,’ विभागका सूचना अधिकारी राकेश पाण्डेले भने, ‘बाटोघाटो अवरोधका कारण मागअनुसार आपूर्ति नहुँदा मूल्य अत्यधिक बढेको हाम्रो बुझाई छ । अर्कोतर्फ खुला अर्थनीति हामीले अंगालेका कारण पनि बस्तुको मूल्य पनि बजारले नै निर्धारण गर्ने हो । हामीले मूल्यमा नियन्त्रण गर्न सक्दैनौं ।’

तर, उपभोग्य वस्तुको मूल्य श्रृंखलामा सबैभन्दा ठूलो समस्या भएको तरकारी बजारको तहगत बिचौलियाको संरचनाका बारेमा भने आफुलाई जानकारी नभएको पाण्डेले बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ९ सय मेट्रिक टन तरकारीको माग भएपनि बुधबार भने मागको तुलनामा करिब तीन चौथाईको अर्थात् ६ सय ६५ मेट्रिक टन मात्रै तरकारी भित्रिएको छ ।

उपत्यका भर दैनिक करिब १२ हजार मेट्रिक टन तरकारीको माग रहेको बताइन्छ । तर, असार १ गते १५ हजार १ सय ३२ मेट्रिक टन तरकारी भित्रिएको थियो । यसरी मागभन्दा बढि तरकारी भित्रिँदा तुलनात्मक रुपमा तरकारीको मूल्य निक्कै सस्तो भएको थियो ।

तरकारीको थोक मूल्यमा नै अत्यधिक वृद्धि भएपछि खुद्रामा पनि मूल्य निक्कै बढेको छ । यो बर्षको साउनको तुलनामा गत बर्षको साउनमा भने तरकारी मूल्य तुलनात्मक रुपमा सस्तो रहेको कालिमाटी बजारको तथ्याँकले देखाउँछ ।

असारसम्म पनि तरकारीको मूल्य तुलनात्मक रुपमा सस्तो थियो । तर, बाढि पहिरो जान थालेपछि असार १० गतेपछि बिस्तारै मूल्य बढ्दै अहिले तरकारीको भाउ सारै महंगो भएको छ ।

तरकारीको मूल्य अत्यधिक बृद्धि हुँदा सर्वसाधारणको भान्छा पनि निक्कै महँगीएको छ । उपभोक्ताले बजारमा अहिले एक पाउ तरकारीलाई नै ४५ देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । यसले गर्दा भान्छा निक्कै महँगीएको शंखमुलकी सुनिता मगरले बताइन् ।

कालिमाटी तरकारी बजारको तथ्याँकअनुसार असार १ गतेको तुलनामा साउन २ गते थोकमूल्यमा ठुलो गोलभेडामा ७७.७७ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, बन्दामा ६४.७० प्रतिशत, स्थानीय काउलीमा ३४.२३, मुलामा ५२.१०, भान्टामा ६२.५९, तने बोडीमा ११७, घिउ सिमीमा ११७, करेलामा १०१, लौंकामा ८२, घिरौंलामा १०३.४४, डल्ले फर्सीमा ७९.५७, भेडे खुर्सानीमा ७५.७०, रायो सागमा १३४.८८ र तोरीको सागमा १३८.६५ प्रतिशतले मूल्य बृद्धि भएको छ ।

खुद्रामा पनि त्यतिकै मूल्य वृद्धि

थोकमै अत्यधिक मूल्य वृद्धि भएको हरियो तरकारीको मूल्य खुद्रामा पनि निक्कै बढेको छ ।

थोकबाट खुद्रा पसलसम्म पुगेको ठूलो गोलभेडामा ३६ प्रतिशत, सानो गोलभेडामा १४०.४२, मुढे आलुमा ३१.४०, प्याजमा ३३.१८, बन्दामा ४३.४७, स्थानीय काउलीमा ८४.४४, मुलामा ४३.४७, भान्टामा ४०.७४, तने बोडीमा ४० प्रतिशतले मूल्य बढेको छ ।

यस्तै, घिरौंलामा ४८.२७, डल्ले फर्सीमा ४८.८६, भिण्डीमा ४०, ब्रोकाउलीमा ४३.५९, भेडे खुर्सानीमा ४३.५९, करेलामा ४८.२७, लौंकामा ४८.२७, परवरमा ८४.४४, स्कुसमा ३१.११, रायो सागमा १९.८६ र तोरी सागमा ३१.७० प्रतिशतले मूल्य बढेको छ ।

तर, किसानले पाउँछन् थोरै

उपभोक्ताले महँगोमा तरकारी खरिद गरी उपभोग गर्न बाध्य भइरहँदा उता किसानले भने त्यहि तरकारीको निक्कै कम मूल्य पाइरहेका छन् ।

मकवानपुर पालुङ्गका तरकारी उत्पादक किसान राजेन्द्र बिडारीका अनुसार राजधानी काठमाडौंमा बिचौलियाहरुले प्रत्येक तरकारीमा १ सय रुपैयाँदेखि १८० रुपैयाँसम्म मार्जिन राखेर बिक्री गर्दैआएका छन् ।

‘हामीसँग प्रतिकिलो २० देखि २५ रुपैयाँमा खरिद गर्ने व्यापारीले १८० रुपैयाँ बढि थपेर राजधानीमा बिक्री गर्दैआएका छन्,’ बिडारीले भने, ‘मिहिनेतअनुसार हामीले आफ्नो मूल्य पाएका छैनौं ।’

उनका अनुसार पालुङ्गका किसानले बन्दा प्रतिकिलो २५, काउली ४०, भेडे खुर्सानी ७०, ठूलो गोलभेडा ५० र मुला १५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दछन् ।

धादिङ्गका अर्का किसान भक्तबहादुर बस्नेतका अनुसार स्थानीय किसानबाट व्यापारीले घिरौंला ४५, करेला ४५, गोलभेडा ४५, डल्ले फर्सी ४०, घिउसिमी ४५ रुपैयाँमा खरिद गर्दछन् ।

उता काभ्रेका किसान लक्ष्मण हुमागाँईका अनुसार काँक्रो ७०, फर्सी ४५, घिउसिमी २५ र बन्दा २५ रुपैयाँका दरले व्यापारीले खरिद गरेका छन् ।

‘हामीसँग सस्तो मूल्यमा खरिद गरी व्यापारीहरुले काठमाडौंमा तीन दोब्बर मूल्य थपेर बिक्री गर्ने गरेका छन्,’ हुमागाँईले क्लिकमान्डुलाई भने, ‘सरकारले किसानलाई लागत मूल्यअनुसार रकम उपलब्ध गराउन कतिपटक अध्ययन गर्यो । तर समस्या समाधान गर्न केही गर्न सकेन ।’

तर, विभाग भने बजारमा विचौलियाको विगविगी देख्दैन र झारा टारे झैं हरेक वर्ष अनुगमन गर्ने गर्दछ । जसबाट उपभोक्ता र किसान दुबलाई केहि पनि फाइदा पुगेको छैन । किनकि आज पनि उपभोक्ताले महँगोमा तरकारी किनेर खान बाध्य छन् भने किसान आफ्नो लागत मुल्य नपाएर बिस्तारै कृषि पेशाबाट बिमुख बन्दैछन् ।


राजेश बर्मा