वाणिज्य बैंकहरुको नाफा १६ प्रतिशतले घट्यो, सबैभन्दा बढी नबिलको, ६ बैंकले मात्र बढाए



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे ५६ अर्ब रुपैयाँ खुद मुनाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार उनीहरुले जेठ महिनामा ७ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
१० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँबराबरको नाफा गरेका छन् । जसमध्ये वाणिज्य बैंकको नाफा ५६ अर्ब ४५ करोड रहँदा विकास बैंकले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले ५५ करोड नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ४ करोड खुद नाफा गरेका थिए । उनीहरुले ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा गरेका थिए । गत आवको ११ महिनाको नाफाको तुलनामा चालु आवको सोही अवधिमा गरेको नाफा १६ प्रतिशत कम हो ।

वाणिज्य बैंकहरुले ११ महिनामा ५६ अर्ब कमाउँदा नबिल बैंक सबैभन्दा बढी कमाउने बैंक हो । बैंकले यस अवधिमा ६ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ । नबिललाई पछ्याउँदै ग्लोबल आईएमई दास्रो नम्बरमा छ । बैंकले ५ अर्ब ९ करोड कमाउँदा नेपााल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड तथा प्राइम, एभरेस्ट, राष्ट्रिय वाणिज्य, प्रभु, कृषि विकास र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्बभन्दा बढी कमाएका छन् ।

राष्ट्र बैंकको तथांकअनुसार नबिलले गत आवको यही अवधिको तुलनामा ११ प्रतिशत कम नाफा गरेको हो भने ग्लोबलको नाफा २२ प्रतिशतले घटेको छ । गत आवको ११ महिनाको तुलनामा प्राइम, एभरेस्ट, प्रभु, कृषि विकास, सिद्धार्थ र सिटिजन्स बैंकले नाफा बढाएका छन् ।

यस अवधिमा सबैभन्दा बढी दरले नाफा घट्ने बैंक नेपाल बैंक बनेको छ भने सबैभन्दा बढी दरले बढाउने बैंक कृषि विकास बनेको छ ।


क्लिकमान्डु