ईसीएलअनुसार नोक्सानी व्यवस्था हिसाब गर्न एकै खाले सफ्टवेयर किन्दै विकास बैंक



काठमाडौं । विकास बैंकहरुले इक्स्पेक्टेड क्रेडिट लस (ईसीएल) अनुसार सम्भावित नोक्सानी हिसाब गर्न एकै खाले सफ्टवेयर जडान गर्ने भएका छन् । साउन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले ईसीएल कार्यान्वयन गर्दै नोक्सानी व्यवस्था हिसाब गर्नु पर्ने भएकाले विकास बैंकहरु तातेका हुन् ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालमा आवद्ध १६ विकास बैंकमध्ये अधिकांश विकास बैंकले ‘एनएफआरएस ९’ कार्यान्वयनका लागि आवश्यक पर्ने एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स खरिद गर्न सम्झौता गरिसकेका छन् ।

सम्झौता गरी आपूर्तिकर्तासँग सम्झौता गरी कार्यान्वयन गर्ने आवश्यक कार्यको थालनी गरिसकेका छन् । बाँकी सदस्य बैंकहरुले पनि २०८१ आसार भित्रै उक्त प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक प्रक्रियाहरु अगाडि बढाइ सकेको जानकारी एसोसिएसनलाई प्राप्त भएको बताइएको छ ।

एनएफआरएस–९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने बिधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ । कर्जा चुक्ता नहुन सक्ने सम्भावना (प्रोव्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने सम्भावित रकम (लस गिभन डिफल्ट), र कर्जा चुक्ता नहुन सक्ने सम्भाव्य रकम (एक्सपोजर एट डिफल्ट) लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिन्छ ।

आव २०८१/८२ बाट एनएफआरएस–९ लागू हुने भएकाले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी नेपाल राष्ट्र बैंकले २०८१ जेठ २ गते सो सम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ । एनएफआरएस–९ लागू गर्न डेभलपमेण्ट बैंकर्स एसोसियसन नेपालले यस अघि ई एन्ड वाई श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरुलाई २ पटक सम्म ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको थियो ।

एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्युसन्स खरिद गर्न सम्भावित आपूर्तिकर्ताको पहिचान गर्नका लागि एशोसिएसन अन्तर्गत रहेको वित्त उपसमिति, कार्यसमिति र सबै सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको समेत बैठकले स्वदेशी तथा विदेशी फर्म/कम्पनीहरुबाट प्रस्तुतिकरण गराइ अध्ययन गरिएको थियो । उक्त अध्ययनको निष्कर्ष सम्पूर्ण सदस्य बैंकहरुलाई सुझाव स्वरुप पठाइएको थियो ।

एनएफआरएस ९ लाई पूर्णतया कार्यान्वयन गरेपछि संभावित कर्जा नोक्सानीको गणना र उक्त संभावित नोक्सानी खाम्नका लागि गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरुलाई कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने विश्वास एशोसिएसनले लिएको छ ।

हालको अनुमानअनुसार नेपाली भेन्डरबाट विकास भएको ईसीएल सफ्टवेयर खरिद गर्न प्रति बैंक २० देखि ५० लाख रुपैयाँसम्म पर्नेछ । यसैगरी विदेशी भेन्डर नै नेपाल आएर सफ्टवेयर उपलब्ध गराए २ करोड रुपैयाँसम्म खर्च हुनेछ ।


क्लिकमान्डु