उद्योगीले भने: हिसाब नगरी प्राधिकरणले हचुवामा पत्र पठायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँको तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ ।
प्राधिकरणले आइतबार निर्णय गरेर सोमबार बिहानै उद्योगीलाई बिल पठाएको हो । अधिकांश उद्योगीहरुले पत्र प्राप्त गरेका छन् । प्राधिकरणले सोमबारदेखि लागु हुने गरी १५ दिनभित्र बक्यौता तिर्न भन्दै पत्राचार गरेको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ महसुल तिर्न ६१ वटा उद्योगलाई पत्र लेखेको हो । यो रकममा २५ प्रतिशत जरिवाना लाग्ने छ ।
पत्र पाएपछि उद्योगीहरुले हिसाब नगरी हचुवाको भरमा पठाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले विद्युत महसुल निर्धारण आयोगको निर्णयअनुसार हुनुपर्नेमा प्राधिकरणले आफैं निर्णय गरेर पठाएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बिनाआधार जानकारीसहितको पत्र पाएको बताए । ‘हामीलाई प्रमाणसहित पठाए तिर्न तयार छौं । महसुल निर्धारण आयोले जुन आधारमा र बेसिसमा महसुल तोकेको छ । सोही अनुसार हुनुपर्छ । हिसाब गरेर पठाउनुपर्थ्यो । त्यो छैन, ‘ उनले भने ।
प्राधिकरणबाट क्लिकमान्डुलाई प्राप्त पत्रअनुसार अर्घाखाची सिमेन्टलाई जरिवानासहित ४४ करोड ४६ लाख ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । तर अर्घाखाचीको पत्रका विषयमा प्राधिकरणले रिभ्यु गरिरहेको छ । सम्भवत अर्को पत्र जानेछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रिपरिषदको निर्णय भन्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल उठाउन पत्राचार गरेपछि नेपाल विद्युत प्राधिकरणले आन्तरिक महसुल गणना समिति गठन गर्यो ।
जेठ तेस्रो साता ऊर्जा मन्त्रालयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल उठाउन पत्र लेखेपछि प्राधिकरणका निर्देशक गणेश लुइटेलको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गर्यो । ७ दिनमा प्रतिवेदन दिने गरी आन्तरिक समिति बनाएको थियो । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले उद्योगीलाई १५ दिनभित्र महसुल तिर्न पत्राचार गरेको छ ।
स्रोतका अनुसार १२ जनाको कमिटीले यो प्रतिवेदन सिफारिस गरिएको हो । ३ जना चार्टर्ड अकाउन्टेन्ट (सीए) राखेर प्रतिवेदन तयारी गरेको हो । ‘हामीले ३ जना सीए राखेर हिसाब गर्यौं । सोही आधारमा जानकारी पठाएका हौं । धेरे कुरा परिमार्जन गरिएको छ,’ उनले भने, ‘ यदि कुनै उद्योगीको दाबी छ, केहि छ भने उहाँहरु आएर हिसाब हेर्न सक्नुहुन्छ ।’ उनले १५ दिनभित्र थप महसुल नतिरे लाइन काट्न थाल्ने बताए ।