मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्दै अख्तियार



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा उनको संलग्नता देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको अख्तियार उच्च स्रोतले क्लिकमान्डुलाई बतायो ।

टेरामक्सबारे अनुसन्धान सकाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायरको तयारी गरेको हो । टेलिकम क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका अर्का व्यक्तिलाई जिम्मेवारी पनि दिइसकेको छ ।

टेरामक्स प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्रीत्रय मोहन बस्नेत, गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्की तथा बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सचिवहरु महेन्द्रमान गुरुङ र विनोदप्रकाश सिंह पनि मुछिएका छन् ।

तत्कालीन मन्त्री बस्नेतको निर्णयका आधारमा सचिव डा. अर्यालले ग्रामीण दूरसञ्चार कोषको ७० करोड रुपैयाँ प्रयोग गरी टेरामक्स जडान प्रक्रिया अघि बढाएका थिए । सोहीअनुसार २०७९ असारमा १ अर्बको उपकरण खरिद भएको थियो ।

टेरामक्स जडानको जिम्मा लेबनानको भेनराइज सोल्युसन्सले पाएको थियो ।

सर्वोच्च अदालतले सर्वसाधारणको टेलिफोन र एसएमएस आदिको निगरानी र नियन्त्रण गर्न नपाउने किसिमको परमादेश जारी गरेकामा प्राधिकरणले सोहीअनुसार कल रेकर्डिङ र एमएमएस रिडिङ क्षमता नभएको प्रणाली जडान गर्ने प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत पुसमा टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गरेको थियो । जसअनुसार अख्तियारलाई पत्र लेख्दै लेखा समितिले अनुसन्धान गरी अभियोजन प्रक्रिया अघि बढाउन भनेको थियो ।

लेखा समितिको तत्कालीन वैठकको निष्कर्ष थियो, ‘टेरामक्सको भुक्तानी ग्रामीण दुरसञ्चार कोषको रकमबाट गरेको तर कुन विधिबाट बजेट स्वीकृत भयो र प्रक्रियामा संलग्न कोको छन् तथा के निर्णय भएको हो भन्ने पाइएन । टेरामक्स जडान गर्दा राजस्व बढ्ने आधार र फाइदा केके हुन् भन्ने पनि उल्लेख छैन । सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना पनि भएन ।’


क्लिकमान्डु