सुन तस्करीको भुक्तानीमा पेवेल ‘कनेक्सन’: पक्राउ परेका तिमल्सिना शिवश्री सहकारीका अध्यक्ष



काठमाडौं । ब्रेक सुमार्फत सुन तस्करीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी) बाट पक्राउ परेका मोबाइल वालेट पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना शिवश्री बहुउद्देश्यीय सहकारी संस्थाका पनि अध्यक्ष रहेको पाइएको छ ।

तिमल्सिनाले ब्रेक सुमार्फत सुन तस्करी र हुण्डीमार्फत गैह्रकानुनी रुपमा आर्जन गरेको पैसा पेवेल मार्फत कारोबार भएको पाइएको छ । उक्त रकम शिवश्री सहकारीमा र हुन्डीमार्फत विदेशसमेत पुर्‍याउने गरेको सीआईबी स्रोतको भनाइ छ ।

गत साता सुनको भुक्तानी पेवेल वालेटमार्फत् हुने गरेको भन्दै पक्राउ परेका तिमल्सिनामाथिको थप अनुसन्धानका क्रममा उनको संलग्नता सहकारीमा पनि रहेको पाइएको हो ।

तिमल्सिनाले गैह्रकानुनी रुपमा आर्जन गरेको पैसा सहकारी मार्फत परिचालन गरेको पाइएको हो । तिमल्सिना पेवेल नेपाल प्रालि का साथ शिवश्री सहकारीका अध्यक्ष हुन् । तिमल्सिनाले गैह्रकानुनी रुपमा पेवेलमा आएको पैसा सहकारीमार्फत अन्यत्र परिचालन गर्ने गरेको भेटिएको हो ।

ब्रेकसुमार्फत् गरिएको सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका क्रममा पेवेल पनि मुछिएको हो । पेवेलेका १५ सय एजेन्टमध्ये ८ एजेन्ट यही काममा संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ । पेवेलले एक वर्षमा ८० अर्ब बढीको कारोबार गरेको पाइएको छ ।

सुन तस्करीको भुक्तानी वालेटबाट हुन थालेपछि नेपाल राष्ट्र बैंकले पेवेलको सबै खाता रोक्का गरेको छ ।

दुई साताअघि नै केन्द्रीय बैंकले उनीहरुले गरिरहेको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको भन्दै खाता रोक्का गरेको छ ।

यी कम्पनीले आफ्नो खातामा पैसा जम्मा गराएर एजेन्टमार्फत् भुक्तानी दिँदा कमिसन लिने गरेको पाइएको छ । एउटा प्रयोजनका लागि इजाजतपत्र लिएर अर्कै काम गरेर पैसा कमाउने खेलोमा लागेपछि अहिले केन्द्रीय बैंक चनाखो बनेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदनअनुसार अहिले सीआईबीले करिब ६१ किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ मा विमानस्थल भन्सार बाहिरबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेकसु) मा लुकाएर ल्याएको ६० किलो ७ सय ग्राम सुन बरामद गरेको थियो । उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणको अनुसन्धान सकेर भदौमै मुद्दा दायर गरिसकेको छ ।

प्रहरी ३२ टन सुन तस्करीमा संलग्न गिरोहले नेपालमा पेवेल र सजिलो पे तथा विदेशमा विभिन्न एजेन्ट परिचालन गरेर हुण्डीमार्फत् भुक्तानी राफसाफ गर्ने गरेको निष्कर्षमा पुगेको छ ।

तिमल्सिना रसुवागढी हाइड्रोपावर कम्पनीका सञ्चालक हुन् भने उनी सोही कम्पनीको लेखापरीक्षण समितिका अध्यक्ष समेत हुन्। उनी रसुवागढीमा चिलिमे हाइड्रोपावर कम्पनीबाट प्रतिनिधित्व गर्छन् ।


क्लिकमान्डु