साथीहरु आफ्नो क्षमता बिर्सेर उत्ताउलो भएर बोल्नुभयो: लामिछाने
गैरआवाशीय नेपाली संघ (एनआरएनए) ८औं बिश्व सम्मेलनको अन्तिम तयारीमा छ । आगामी शनिवारदेखि काठमाडौंमा सुरु हुने यो सम्मेलनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । १४ बर्ष अगाडि स्थापना भएको एनआरएनएको लोकप्रियता र संजाल अहिले विश्वब्यापी भएको छ । अहिले ७८ देशमा यसको संजाल फैलिएको छ भने ७० हजारभन्दा धेरै सदस्य भइसकेका छन् । नेपाल सरकार र नेपाली जनताले पनि एनआरएनबाट नेपालको आर्थिक समृद्धिमा ठूलो योगदान हुने अपेक्षा गरेका छन् । यही परिवेशमा एनआरएनए स्थापनाको सोच, अहिलेको विकास, यसले गर्न सक्ने काम र यसको आगामी गन्तब्य जस्ता विषयहरुमा संघका संस्थापक तथा पूर्वअध्यक्ष जीवा लामिछानेसँग क्लिकमाण्डूका लागि शिव सत्यालले गरेको कराकानीः
एनआरएनए ८औं बिश्व सम्मेलनको सम्मुखमा छ, यो अबस्थामा संस्थापकको नाताले तपाइ कस्तो महसुस गरिरहनु भएको छ ?
यो अभियान विधिवत रुपमा सुरु भएको १४ बर्ष पूरा भएर १५ बर्ष लाग्यो । विगतलाई फर्केर हेर्दा भिम उदास, उपेन्द्र महतो र म मस्कोको एउटा कोठामा बसेर एउटा सोच बनाएका थियौं । अझ भनौं चिया गफमा सुरु भएको थियो यो अभियान । आज विश्वका ७८ देशहरुमा यो अभियान विस्तार भएको छ । विदेशमा बस्ने सबै नेपालीहरुको साझा संगठनको रुप लिएको छ । नेपाल बाहिर बस्ने नेपालीहरुको बृहत संजाल बनेको छ । यो आफैमा सुखद पक्ष हो ।
योसँगै हामीले केही हाम्रा मुद्दाहरु उठाएका थियौं । यो १४ बर्षको यात्रामा ती मुद्दाहरु सम्बोधन भएर आउनु पर्ने थियो । ती मुद्दाहरु सम्बोधन भएर आएका छन् ।
अर्काे कुरा धेरै महत्वपूर्ण कुरा के हो भने विदेशमा भर्खर स्थापित हुन संघर्ष गरिरहेको नेपाली समुदायले नेपालको विभिन्न क्षेत्र जस्तै लगानी तथा सामाजिक क्षेत्रमा पनि हात हालेको छ । जस्तो उपेन्द्र महतोले केही अर्ब लगानीमा अस्पताल खोल्नुभएको छ । यस्ता परियोजनाहरु धेरै नभएपनि लगानी र सामाजिक क्षेत्रमा योगदान गरिरहेका छन् । यसकारण हामीले जुन उद्देश्यको लागि यो अभियान सुरु गरेका थियौं, त्यो सही निर्णय थियो र त्यही बाटोमा लागिरहेका छौं भन्ने मैले महसुस गरेको छु ।
तपाइहरुले जुन सपना देखेर यो संस्था स्थापना गर्नुभएको थियो, अहिले त्यही बाटोमा छ भन्ने लाग्छ ?
हामीले जुन उद्देश्यले यो संस्था स्थापना गरेका थियौं, त्यो पूरा हुदै गएको छ । त्यो बेलाको आवश्यकता अनुसारको संगठनको संरचना तयार पारिएको थियो । संघमा आवद्ध हुन चाहने साथीहरुका लागि हामीले खुकुलो प्राबधान राखेकै हो । त्यो खुकुलो प्राबधान अहिले दुरुपयोग भयो । खुकुलो प्राबधानबाट भित्र पसेर संस्थापकहरुको कुनै योगदानै नभए जसरी ब्याख्या गर्न थालियो । त्यो प्राबधानबाट पसेर खेल्न थालियो । संस्थाको संरचनाको पाटोको अहिले जसरी ब्याख्या गरिदैछ वा जुन बाटोमा संस्थागत संरचना अगाडि बढाउने भनिएको छ, त्यसमा हामी सही छैनौं कि जस्तो मलाई लागेको छ ।
एनआरएनएको संस्थापक अध्यक्ष उपेन्द्र महतो हुनुभयो, त्यसपछि देबमान हिराचन, जीबा लामिछाने र शेष घलेले पनि यसको नेतृत्व गर्नुभयो, एनआरएनए स्थापना भएपछि नेपालमा भएको राजनीतिक परिवर्तनसँगै विभिन्न प्रकारका जातिय, भौगोलिक मुद्दाहरु आए । तपाइहरुले एनआरएनएलाई यति समाबेशी र राम्रो संस्था कसरी बनाउन सक्नुभयो ?
हामी नेपालीहरु बुझ्ने भएदेखि नै राजनीतिक आस्थाका आधारमा बिभाजित छौं । पछिल्लो समयमा तपाइले भने जस्तै जातिय, क्षेत्रीय, भौगोलिक र बर्गीय संगठनहरु बनाएर संगठीत हुने क्रम बढ्यो । संगठन बनाएर संगठित हुनु आफैमा नराम्रो कुरा होइन । तर, हामीहरु विभाजित भएका थियौं । नेपालभित्र जसरी हामी नेपालीहरु जात, बर्ग, क्षेत्र वा भूगोलका आधारमा विभाजित थियौं, बिदेशमा बस्ने नेपालीहरुमा पनि ठ्याक्कै यस्तै अबस्था थियो ।
नेपालका प्रमुख राजनीतिक दलहरुका भातृ संगठनहरु विदेशमा पनि थिए । हामीले के गर्यौं भने यस्तो कल्पना गर्नुपर्यो जहाँ सबै अटाउन सकुन् । साझा मन्च हुनुपर्यो । त्यसैले एनआरएनएलाई हामीले छाता संगठन भनेनौं । साझा मन्च भन्यौं । राजनीतिक आधारमा भन्ने हो भने उपेन्द्रजी र मेरो ३२ बर्षको संगत हो । उहाँ र मेरो नै राजनीतिक आस्था मिल्दैन । तर, अरु सबै कुरामा हाम्रो कुरा मिल्छ । ब्यवसाय गर्दा हामीले कसैलाई पनि यो फलानो जातको, फलानो क्षेत्रको, फलानो भूगोलको वा फलानो राजनीतिक आस्थाको भनेर ब्यवहार गरेनौं । सबै साथीहरुलाई समेटेर यसलाई साझा मन्च बनाऔं भनेर काम गर्यौं ।
हामी जुनसुकै जातको, बर्गको, राजनीतिक आस्थाको वा भूगोलको भएपनि हाम्रो उद्देश्य एउटै थियो । हाम्रा समस्याहरु साझा थिए । ती साझा समस्या समाधानमा संयुक्त आवाज उठाउने तथा रहर वा वाध्यताले बिदेशमा बस्नु परे तापनि नेपालको सामग्र आर्थिक सामाजिक विकासमा सक्दो सहयोग गर्ने हाम्रो अभिप्राय थियो । विदेशमा बस्ने हामी पहिलो पुस्ताका नेपाली हौं । हाम्रा जरा बलियो र बाक्लो गरी नेपालमै गाडिएको छ । हामीले धेरै गर्न सक्ने होइन । हामी बिदेशमा भर्खर भर्खर बामे सर्न थालेका छौं ।
तर, नेपालको विकास गर्ने कुरामा र सामाजिक क्षेत्रमा योगदान पुर्याउने कुरामा हामी थोरै भएपनि योगदान गर्न चाहन्थ्यौं । हातेमालो गर्न चाहन्छौं । यही मनोभावनाले एनआरएनए तपाइले भन्नुभए जस्तै राम्रो संस्था बन्न सकेको होला ।
एनआरएनएको चुनौति के देख्नुहुन्छ ?
यो बिषय दुःखका साथ भन्नुपर्छ । एनआरएनए सामाजिक संस्था हो । तर, यहाँ राजनीति दह्रोसँग भित्रिएको छ । काँग्रेस र कम्युनिष्टका नाममा हामी विभाजित हुदै गएका छौं । यो संस्थालाई बचाउने हो भने यो प्रकारको राजनीतिक गतिबिधिबाट यसलाई मुक्त गराउनै पर्छ । संस्था ठूलो भइसक्यो । यसले ठूलो परिसचय बनाइ सकेको छ । राम्रा कामहरु गरिसकेको छ । संस्थामा आवद्ध हुन चाहने साथीहरु धेरै भइसकेका छन् । यो धेरै राम्रो पक्ष हो । तर, मसँग बिचार मिल्ने, जात मिल्ने ब्यक्ति मात्रै नेतृत्वमा आउनु पर्यो भन्ने भावना एकदमै गलत हो । यस्तो भाबनालाई बिचमै रोक्न सकेनौं भने यो संस्थाको उपादेयता नै सकिन्छ भन्ने मलाई लाग्छ ।
एनआरएनले धेरै लगानी ल्याइदेलान र विकासले फट्को मार्ला भनेर नेपाली जनता र सरकारले अपेक्षा गरे जस्तो देखिन्छ, यसमा एनआरएनको पक्षबाट बढी सपना देखाइएको हो वा नेपाली पक्षले बढी अपेक्षा गरेको होला ?
यसमा दुबै पक्ष प्रष्ट पार्न वा हुनबाट चुके जस्तो मलाई लाग्छ । ठूलो संख्यामा नेपालीहरु बिदेश जाने परम्परा सुरु भएको भनेको २०४६ सालको राजनीतिक परिवर्तन पछि मात्रै हो । हामी पैसा लिएर बिदेश गएको बर्ग पनि होइनौं । बिदेशमा गएर पढ्दै, आफ्नो सानो कमाइ वा पुँजीको परिचालन गरेर स्थापित हुन प्रयास गरिरहेको बर्ग हो । देशको कायापलट हुने गरी परिवर्तन गर्न सक्ने लगानी ल्याउने वा विकासमा साझेदार बन्न सक्ने समय नै भएको छैन । हैसियत नै पुगेको छैन । त्यसैले हाम्रो क्षमताभन्दा बढी अपेक्षा भए जस्तो मलाई लाग्छ ।
हाम्रो तर्फबाट पनि कमजोरी भए । यो सम्मेलनमा आउँदा जिम्मेवार साथीहरुबाट त्यस्तो कुरा नआएपनि केही साथीहरुले आफ्नो क्षमता बिर्सिएर बढी सपना बाढ्ने काम भएको मैले पनि महसुस गरेको छु । केही साथीहरु संचार माध्यममा म यस्तो गर्छु र उस्तो गर्छु भनिरहनु भएको हुन्थ्यो । तर, उहाँ आफ्नो क्षमता विर्सेर त्यसो भनिरहनु भएको हुन्थ्यो । यस्तो कुराहरु पढ्दा, सुन्दा र हेर्दा म आफैलाई पनि ग्लानी बोध हुन्थ्यो । साथीहरुले त्यसो नभन्दिए हुन्थ्यो जस्तो लाग्थ्यो ।
हामी रहर वा वाध्यताले बिदेशमा बसेका छौं । त्यहाँ स्थापित हुन आफै संघर्ष गरिरहेका छौं । तर, पनि नेपालमा तिर्नुपर्ने ऋण छ भनेर हामीले महसुस गरेका छौं । त्यसैकारण ठूलो क्षमता नभएपनि देशप्रतिको जिम्मेवारी बोध गरेर केही गर्न चाहनेहरुको समुदाय हो भनेर हामीलाई हेरिदिनुस् । हाम्रो धेरै क्षमता नै छैन । हाम्रा साथीहरु त्यसै उत्ताउला भएर धेरै बोलिदिनु भएन ।
अब एनआरएनए कसरी अगाडि बढ्नु पर्छ ?
यसका उद्देश्यहरु प्रष्ट छन् । उदेश्यहरु सही छन् । यसका सही उद्देश्यहरुलाई सही किसिमले अगाडि बढाउनु पर्छ । यो हामी सबैको साझा मन्च हो । यसलाई हामी सबैले आफ्नो साझा मन्चकै रुपमा बुझ्नुपर्छ । हाम्रो भन्दा पनि राम्रो काम गर्न सक्ने साथीहरु संस्थाको नेतृत्वमा आउनु पर्यो । संस्थाको मर्म बुझेको साथीहरु आउनु पर्यो भन्ने हो ।