विवादित पर्वतारोही निर्मल पुर्जामाथि छानबिन हुँदै, भ्रामक सूचना फैलाएकोमा कारवाही हुने



काठमाडौं । विवादास्पद छविका पर्वतारोही निर्मल पूर्जमाथि छानविन हुने भएको छ । पूर्जाले भ्रामक सूचना फैलाएको र नेपालको पर्वतारोहणको बारेमा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले छानविन प्रक्रिया अगाडि बढाएको छ ।

पुर्जाले सोमबार (१३ जेठमा) सामाजिक सञ्जाल इन्स्टाग्राममा आरोही यो वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिट बीचको भाग काटिएको भन्दै भ्रामक सूचना फैलाएका थिए । उनले डोरी नभएको कारण आरोही फर्कनुपरेको भन्ने सन्देश फैलने गरी नकारात्मक प्रचार गरेको पर्यटन विभागको भनाइ छ ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति नै जारी गरेर सगरमाथाको सफल आरोहण भइरहेको र पुर्जाले भने जस्तो उक्त स्थानमा आरोहणको लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको तथा सहज रुपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको बताएको छ ।

पुर्जाले राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने गरी उक्त अफवाह फैलाएको भन्दै उनले गरेको हल्लाको पछि नलाग्न तथा उनले सम्प्रेषण गरेको सूचनालाई विश्वास नगर्न पनि विज्ञप्तिमार्फत अपिल गरेको छ ।

विभावगले चर्चित हुने बहानामा पुर्जाले अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा गरेको भन्दै संलग्न पुर्जा र अन्य व्यक्तिहरु उपर छानविनको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।


क्लिकमान्डु