अस्वस्थ्य भएपछि सिरोहिया अस्पताल भर्ना



जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनी चार दिनदेखि जनकपुरस्थित प्रहरी हिरासतमा छन् ।

सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराए पनि ढिलासुस्ती भएकाले समस्या थपिएको बताए ।

‘मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले अस्पताल पठाउन प्रहरीलाई आग्रह गरेको थियो । तर, प्रहरी ढिलाइ गर्‍यो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मात्रै जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरियो,’ कर्णले भने ।

गत मंगलबार काठमाडौंमा पक्राउ पश्चात् उनलाई जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ ।

सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचाप लगायतका समस्या थियो । स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा ओममूर्ति अनिललाई टेलिफोनमार्फत जानकारी गराइएका छन् । अनिलको समेत सल्लाहमा थप उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।


क्लिकमान्डु