सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी घाइते, अस्पताल लगियो



फाइल तस्बिर

काठमाडौं । सीता एयरको जहाजले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

बिहीबार दिउँसो नेपालगञ्जबाट यात्रु लिएर रारा विमानस्थल पुगेको सीता एयरको टुइनअटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार विमानस्थलमा जहाज उडानको संकेत गराइरहेका भामलाई विमानले ठक्कर दिएको हो । विमानको ठक्करबाट उनको टाउकोमा चोट लागेको छ ।

विमानका चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते भामलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।


क्लिकमान्डु