सेनाले निर्माण गरिरहेको द्रुतमार्गको पहिलो लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’



काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको  काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज२ मा पर्ने लेनडाँडा सुरुङमार्ग ब्रेक थ्रुभएको छ ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये १ हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रुभएको हो । शुक्रबार ब्रेक थ्रु गरिएको सेनाले जनाएको छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ ।

निर्माणाधीन ६ वटा सुरुङमार्गमध्ये पहिलो सुरुङमार्ग ब्रेक थ्रु भएको हो । द्रुतमार्गको हालसम्म ३३ प्रतिशत काम सकिएको छ । करिब २ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ लागतमा अघि बढिरहेको आयोजनामा हालसम्म ५७ अर्ब रुपैयाँ खर्च भएको छ ।

२०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट कार्य प्रभारम्भ भएको द्रुतमार्ग आयोजना आगामी २०८३ चैतसम्ममा निर्माण पुरा गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ ।


क्लिकमान्डु