मौद्रिक नीतिलाई लचिलो र सहज बनाउँदै लैजान्छौं: राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक सेयर बिक्रीमा लचिलो नीति लिएको हो ।

मौद्रिक नीतिले बैंकदर,नीतिगत दरहरुमा परिमार्जन परिवर्तन नगरी नियामक नीतिहरुमा केही सहज बनाउने गरी लचक नीति लिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिको समीक्षा आएको छ ।

मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाहरुको थप पुँजी जुटाउन सहजीकरण गर्ने भएको छ । बैंकहरु पुँजीकोष सकसमा परेका बैंकहरुलाई सहजिकरण गर्ने गरी मौद्रिक नीति समीक्षामार्फत सुदृढ बनाउन पनि बाटो दिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले व्यक्तिगत आवासीय घरको कारोबारले सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने निष्कर्षसहित घर कर्जाप्रति लचिलो नीति लिएको बताए । मौद्रिक नीतिको समीक्षा सार्वजनिकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता भट्टले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा अनुसार लचिलो मौद्रिक नीति लिँदै गएको बताएका हुन् ।

मौद्रिक नीतिलाई लचिलो र सहज बनाउँदै लैजाने राष्ट्र बैंकको अडान भएकाले त्यही अनुसार मौद्रिक नीतिका समीक्षामा निरन्तरता दिँदै आएको उनले बताए ।

उनले मौद्रिक नीतिको समीक्षा बजारलाई सहज बनाउने हिसावमा आएको उनको दाबी छ । प्रवक्ता भट्टले बैंकको ब्याजदर करिडोर,बैंक दर,नीतिगतदर, वैधानिक तरलतादर पनि स्थिर राखिएको बताए ।

उनले नियमाकीय व्यवस्थाहरुमा मुख्य रुपमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीलाई बिस्तार गर्नुपर्ने,कर्जा बिस्तार क्षमता बढाउनुपर्ने र पुँजीको दबाबमा संस्थाहरुलाई सहज गर्ने नीति लिएको उल्लेख गरे ।

यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो पुँजीको व्यवस्थापनमा सजिलो बनाउने दाबी गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले असल कर्जाका लागि कर्जा नोक्शानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिएको भन्दै यसले बैंक तथा वित्तीय संस्थालाई केही साधन परिचालनका लागि सहज बनाउने उनले बताए ।

बैंक वित्त संस्थाहरुले ठूलो रकम सेयरमा अथवा अन्य उपकरण डिभेन्चरमा लगानी गर्ने गरेको भन्दै उनले त्यस्तो लगानी १ वर्ष पुगेपछि प्राथमिक पुँजीको २० प्रतिशत नबढ्ने गरी एक वर्षमा बिक्री वितरण गर्न सक्ने व्यवस्था ल्याएको बताए ।

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्यालेन्ससिट,लगानीको व्यवस्थापन गर्न सहज बनाउने र आर्थिक क्रियाकलापमा अप्रत्यक्ष रुपमा सम्पत्ति बजारलाई चलायमान बनाउनका लागि भूमिका खेल्ने उनले बताए ।

घर किन्नका लागि बैंकबाट लिने ऋणको सीमा बढाएको उनले बताए । आफ्नो आम्दानीको ५० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण पाइने गरेकोमा अब भने ७० प्रतिशतसम्म बैंकबाट ऋण र ३० प्रतिशत आम्दानी भए पुग्ने बनाइएको भट्टले जनाकारी दिए

राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले यसो भने

चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा लचिलो मौद्रिक नीति हो । बजारमा परिस्थिति प्रतिकुल भयो । राष्ट्र बैंकले मौद्रिक नीतिलाई कडाइ गर्नुपर्ने अवस्था आएमात्रै गर्छौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई लचिलो र सहज बनाउँदै लैजान्छौं भन्ने राष्ट्र बैंकको अडान नै हो । त्यो अडानलाई निरन्तरता दिँदै पहिलो त्रैमासिक समीक्षा गरौं । त्यसले बजारलाई चलायमान बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्यो । त्यसपछि अर्धवार्षिक समीक्षा गरियो ।

अहिले तेस्रो त्रैमासिक समीक्षा बजारलाई सहज बनाउने हिसाबमा आएको छ । विशेष गरेर नियमाकिय व्यवस्थाहरुमा मौद्रिक नीतिका उपकरणसँग सम्बन्धित व्यवस्थालाई यथावत राखिएको छ । बैंकको ब्याजदर करिडोर,बैंक दर,नीतिगतदरहरु यथावत छन् ।

वैधानिक तरलतादर पनि स्थिर राखिएको छ । मौद्रिक नीतिका मुलभुत उपकरणहरु यथावत राखिएका छन् । नियमाकिय व्यवस्थाहरुमा मुख्य रुपमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीलाई बिस्तार गर्नुपर्ने,कर्जा बिस्तार क्षमता बढाउनु पर्ने र केही संस्थाहरु पुँजीको दबाबमा छन् । उनीहरुको पुँजी कोषको दबाब छ । पुँजी अनुपात पुग्दैन की भन्ने अफ्ठ्यारो महशुस गरिरहेका छन् । त्यस्ता संस्थाहरुलाई सहज गर्न सकियोस् भनेर राष्ट्र बैंकले थप उपकरणहरु दिन्छौं ।

विद्यमान व्यवस्थामा भएका उपकरणहरुलाई भोली विस्तारै खोल्दै जान्छौं । यसले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो पुँजीको व्यवस्थापनमा सजिलो बनाउँछ । बैंक तथा वित्तीय संस्थाहरुले असलकर्जाका लागि कर्जा नोक्शानी व्यवस्था १.२५ प्रतिशत राख्नुपर्ने थियो भने अहिले घटाई १.२० प्रतिशत कायम गरिएको छ । यसले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई केही साधन परिचालनका लागि सहज बनाउने हुन्छ ।

तेस्रो बैंक वित्त संस्थाहरुले ठूलो रकम सेयरमा अथवा अन्य उपकरण डिभेन्चरमा लगानी गरेका छन् भने त्यस्तो लगानी १ वर्ष पुगेको छ भने प्राथमिक पुँजीको २० प्रतिशत नबढ्ने गरी एक वर्षमा बिक्रि वितरण गर्न सक्छन् भन्ने छ । यसले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्यालेन्ससिट र लगानीको व्यवस्थापन गर्न सहज बनाउँछ । आर्थिक क्रियाकलापमा अप्रत्यक्ष रुपमा सम्पति बजारलाई चलायमान बनाउनका लागि भूमिका खेल्छ ।

अहिले सर्वसाधरणहरुलाई घरकर्जा अथवा आवासीय व्यवस्थाका लागि केही बैंक वित्तीय संस्थाहरुबाट ऋण सहयोग सजिलो हुनुपर्छ । ऋणको माध्यमबाट केही सहजिकरण गर्नुपर्छ भन्ने थियो त्यसका लागि पनि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ७० प्रतिशत पु¥याईएको छ । ७० प्रतिशत पुर्‍याएका कारणले सर्वसाधरणका लागि घरकर्जा तिर्न सहज बनाउने अवस्था हुन्छ । नयाँ ऋणीहरुलाई पनि सहज बनाउने काम गर्छ । सवारी साधन र हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जा सहजिकरण गरिको छ । जसमा जोखिमभार १२५ प्रतिशत घटाई १०० प्रतिशत कायम गरेको छ ।


क्लिकमान्डु