बैंकहरुले वर्षभरमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर बेच्न पाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी रहेको सेयर बिक्री गर्न पाउनेबारे नयाँ व्यवस्था गरिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयरमा लगानी गरेको १ वर्ष बितिसकेको छ भने पनि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत बेच्न पाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।’
केन्द्रीय बैंकका नियमन विभाग प्रमुख गुरूप्रसाद पौडेलले सहजीकरण हुने गरी चाँडै नै हाल कायम व्यवस्था संशोधन गरिने बताए ।