विचार गरेर खेलौं होली, रंगले खल्लो बनाउन सक्छ पर्व



काठमाडौं । फागु (होली) पर्व मनाउन शिशा (लिड) प्रयोग गरिएका रंग प्रयोग गर्दैहुनुहुन्छ भने तपाईले विभिन्न प्रकारका रोगहरुलाई निम्त्याउदै हुनुहुन्छ । साँस्कृतिक पर्व मनाउने क्रममा लिडयुक्त रंग र पेन्ट्सको प्रयोगबाट छाला लगायत विभिन्न प्रकारका खतरनाक रोगलाई निम्त्याउनु सरह मानिन्छ ।

वातावरण बैज्ञानिक तथा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार घर आँङ्गन, काठ र फलामे फर्निचर रङ्गाउने विभिन्न प्रकारका लिडयुक्त रंगहरु पछिल्लो समयमा फागु पर्वमा अनुहारमा दल्ने चलन सुरु भएको छ । फागु पर्वमा बजारमा पाइने रंगदेखि अबिरसम्ममा छालालाई हानी पु¥याउने रसायनिक तत्व मिसाइएका हुन्छन् ।

फागुपर्वमा केटाकेटीदेखि युवायुवतिसम्ममा यस्ता रंग, पेन्ट्स र अबिर प्रयोग गर्ने मोह बढेको छ ।

‘टल्कने बिशेषताका कारण तिनीहरुमा यस्ता रंग र पेन्ट्सको अनुहारमा दल्ने मोह अत्याधिक बढेको छ, यस्ता रंग र पेन्ट्सले मानव स्वास्थ्यको लागि अत्यन्त खतरनाक मानिन्छ,’ उनले भने ।

यस्तो रसायनिक तत्व मिसाइएका रंग, पेन्ट्स र अबिरका कारण आँखा गुम्ने पनि ठूलो सम्भावना हुन्छ । वातावरण बैज्ञानिक साहले फागु पर्वमा सकेसम्म हर्वल रंग र अबिर मात्रै प्रयोग गर्न सुझाव दिए ।

त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतको शिक्षण अस्पतालका छाला रोग बिशेषज्ञ डा. अनिल दासका अनुसार लिडयुक्त रंग र पेन्ट्सले छालामा एलर्जी हुने, छाला डढाउने, फोका आउने, छालाजन्य रोग लागेर दाग बस्ने र चाउरीपन आउने समस्या हुन्छ । आँखामा पर्दा ज्योति गुम्ने डर हुन्छ । रसायनयुक्त रंगले छालाको क्यानसर तथा अबिरको प्रयोगले अस्थमा र श्वाससम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।

डा.प्रकाश बुढाथोकीकाअनुसार बजारमा रसायन मिसाइएका कृत्रिम रङको बोलवाला छ । विभिन्न प्रकारका अप्राकृतिक र मिसावटयुक्त रंगको प्रयोग होलीमा हुन्छ । जसले फोक्सो, छाला, आँखा, दाँत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा ठुलो असर गर्छ । त्यस्तै होलीमा लोला प्रहारले आँखामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगमा लाग्दा घाइते, बेहोस र मृत्यु पनि हुने गर्छ ।

मदिरा, भाङजस्ता नसालु पदार्थ सेवनसँगै होली खेल्दा जोसले हेक्का नै नभएर रङ आँखा, नाक, मुख हँुदै शरीरभित्र पस्न सक्छ । श्वासनली, मुटु, मिर्गाेलाजस्ता संवेदनशील अंगमा गएर टासिन्छन् । रङलाई तेलमा मिसाएर छालामा लगाउँदा झनै समस्या बढ्छ । रसायन मिसिएका रङमा हुने हानिकारक तत्वले छाला र आँखासम्बन्धी विभिन्न अल्पकालीन तथा दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।

अधिकाँश अजैविक सुक्खा रङ र अबिरमा हुने रङ दिने कलरेन्ट र अस्वेष्टस वा सिलिका दुवै स्वास्थ्यका लागि जोखिम हुन्छ । अस्वेष्टसले कयान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ । रंगमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा रङ दिन प्रतिदिन खतरा र हानिकारक बन्दै गएको छ । रङ वा अबिर धेरै दल्दा सुन्दरता नै गुम्ने खतरा हुन्छ । छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ ।

सुख्खा र गिलो रङले दम बढाउने, ब्रोङकाइटिस हुने गर्छ । कपाल फुट्ने, खस्रो र जर्राे बनाउँछ । रङले छालामा एलर्जी भएर पोल्ने, फोका उठ्ने, एक्जिमा(छाला चिलाउने), घर्षण भई जलन र घाउखटिरा आउने, छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रङमा परिवर्तन, घाममा रङ दल्दा छालामा टासेर छालाको बाहिरी र भित्री तहमा क्षति पुगेर दीर्घकालीन संक्रमण गराउन सहयोग गर्छ । रङमा मिसाइने जिंक क्लोराइड रङ दलेपछि छाला चिलाउछ तथा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार लिड प्रयोग गरिएका रंग र पेन्ट्स छाला, श्वासप्रश्वास र खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गर्ने यस्ता तत्वले विषको रुपमा काम गर्छ । थोरै मात्राले पनि ठुलो असर गर्छ ।

रक्त नलीमा यसले रातो रक्त कोषिकाहरुलाई मार्ने स भावना हुन्छ । जसले गर्दा विभिन्न अंग तथा तन्तुहरुलाई चाहिने आवश्यक अक्सिजनको आपूर्तिलाई अवरुद्ध गर्नसक्छ। धेरैजसो लिड हाडमा गएर बस्छ । जसले गर्दा रक्त कोषिकाको उत्पादनमा कमी र हाडलाई चाहिने क्याल्सियमको उपलव्धतामा कमी ल्याएर हाडलाई स्वस्थ्य तथा बलियो हुनबाट रोक्ने काम गर्दछ ।

लिडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउँछ । यसवाहेक पेट दुख्नु, कब्जियत हुनु, अनिन्द्रा हुनु, टाउको दुख्नु, छाडे रोग हुनुका साथै चिडचिडाहटपन पनि हुन सक्छ । ‘लगातार लामो समयसम्म लिडको सम्पर्कमा आइरह्यो भने यसले मृगौलाको कार्यमा समेत असर पु¥याएर बाँझो वा नपुँसक जस्ता रोगलाई निम्त्याउन सक्छ,’ डा. दासले भने,‘यसबाट रोकथाम गर्न अभिभावक आफै सचेत हुन जरुरी छ ।’

वातावरण बैज्ञानिक साहका अनुसार लिडबाट सबैभन्दा बढी बालबालिकाको लेख्ने र पढने क्षमतामा असर पार्छ । गर्भवती महिलाहरुका लागि झन खतरनाक मानिन्छ । अत्याधिक टल्कने र चाँडै सुक्ने विशेषता भएको यस्ता रंगहरुमा विभिन्न प्रकारका रसायनिक तत्व पनि मिसाइएका हुन्छन । लिड प्रकृतिमा पाइने निलो र खैरो रङ्गको गरुँगो धातु हो ।

यसको प्रयोग खासगरी पेन्ट्स, व्याट्रीलगायत अन्य विभिन्न प्रकारका धातुका सामानहरुमा प्रयोग भएको पाइन्छ । नेपालमा पाईने सबै खालका पेन्ट्सहरुमा अत्याधिक मात्रामा लिड पाईएको छ । सबैभन्दा कम ३.९८ पिपिएम र अत्याधिक ७३९६६.४ पिपिएमसम्म पाईएको छ । यो परिमाण अमेरिकी मापदण्ड ९० पिपिएमभन्दा झन्डै ८ सय २२ गुणाले बढी छ ।

कुन रंगमा कस्ता रसायन प्रयोग र स्वास्थ्यमा असर
फागु पर्वमा अत्याधिक खपत हुने कालो र भान्टा रंग र अबिरमा लेड अक्साइडको अत्याधिक प्रयोग गरिएको हुन्छ । यस्तै हरियो रंग र अबिरमा कपर सल्फेट रसायनको प्रयोग भएको हुन्छ । सेतो रंग र अबिरमा एल्मुनियम ब्रोमाइड मिश्रण गरिएको हुन्छ । रातो रंग र अबिरमा मरमरी सल्फाइड, पहेलो रंग र अबिरमा क्रोमियम ब्रोमाइड रसायनको प्रयोग गरिएको हुन्छ ।

कालो रंग प्रायः गरि लिड अक्साइडबाट निर्माण हुन्छ । यसको प्रयोगले मिर्गौलालाई हानि गर्छ । यस्तै हरियो रंग निर्माण गर्न कपर सल्फेट प्रयोग हुन्छ । यो रंगको प्रयोगले आँखालाई नोक्सानी गर्छ । हल्का बैजनी रंग क्रोमियम आयोडाइडबाट निर्माण हुन्छ । यसले श्वास प्रश्वासमा असर गर्छ ।

स्तै पर्सियन ब्लुबाट निर्माण हुने नीलो रंगको प्रयोगले छालालाई असर गर्छ । रातो रंग बनाउन प्रयोग गरि मर्करी सल्फेट बनाइन्छ । यो रंग प्रयोग गर्दा छालाको क्यान्सर हुन्छ । त्यस्तै सिल्भर रंग तयार गर्न अल्मुनियम ब्रोमाइड भन्ने रसायनको प्रयोग हुन्छ । यो रंगको प्रयोग गर्दा क्यान्सर निम्त्याउँछ ।

रोकथाम

राम्रो गुणस्तरीय वा पाउडर, पानीमा घुलनशील, शुद्ध रङको मात्र प्रयोग गर्नुपर्छ । गोल्डेन, सिल्भर रङ तथा सिलिका मिसाइएका रङ प्रयोग गर्नुहुँदैन । रङ पानीसँग मिसाएर प्रयोग गर्नुहुँदैन । रङलाई बढी गाढा बनाउने बहानामा तेजावी र कृत्रिम रङ थप्नुहुँदैन । छाला शरीरको सुरक्षा कवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ ।

रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहर पानी, बेलुन र लोलाको प्रयोग गर्नु हुँदैन । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा क्षति हुन्छ । तसर्थ, नमाडी सफा पानीले पखालेको पखालै गर्नुपर्छ ।

खेल्नुअघि यो उपाय गरौं

रंग खेल्नुअघि शरीरमा सकेसम्म नरिवलको तेल लगाउँदा उत्तम हुन्छ । होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर, सनसक्रिन क्रिम र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइट फिट चस्मा लगाउन सकिन्छ ।

यसले गर्दा छालामा रंग र अबिरबाट हुने असरलाई कम गर्छ । रंग पनि सजिलै छुडाउन सकिन्छ । रंग खेल्नुअघि कपुर वा नारिवलको तेल पनि लगाउन सकिन्छ । यसले गर्दा रंग र अबिरमा प्रयोग गरिएको रसायनको प्रभावलाई न्युनिकरण गर्न सहयोग गर्छ ।

यसरी छोडाऔं रंग

फागु पर्वको रंग निकाल्न तातो पानी कहिले प्रयोग गर्नुहुन्न् । सकेसम्म चिसो पानी प्रयोग गर्नुपर्छ । कपालबाट रंग निकाल्न पहिले अण्डा र दहीको पेष्ट बनाएर कपालमा लगाउनुहोस् । केही समयपछि मात्रै स्याम्पुको प्रयोग गर्नुहोस् । फागु पर्वको एक दिनअगावै दुई चम्चा मेथीको दाना, शिकाकाई पाउडर ६ चम्चा र तीन चम्चा अमला पाउडरमा तीन कप पानीमा उमालेर चिसो बनाउने ।

चिसो बनाइएको यो झोललाई कपालमा लगाएर कपाल धुन सकिन्छ । अनुहान र शरीरको विभिन्न स्थानमा लागेको रंग र अबिर निकाल्न साबुन र फेसवासभन्दा बेसन, दूध वा दही तथा गुलाव जल मिसाएर पेष्ट बनाएर अनुहारमा बिस्तारै प्रयोग गर्नुपर्छ ।
नरिवलको तेल लगाएर पनि अनुहार र शरीरको अन्य भागको रंग निकाल्न सकिन्छ ।

मुल्तानी माटोलाई ग्लिसरिन र गुलाबजलमा मिसाएर रंग लगाइएको भागमा लगाएर सुक्न दिने । केही समयपछि चिसो पानीले धोएमा रंग निस्केर जान्छ । कागती र ऐलोवेरको पल्पलाई मिसाएर रंग निकाल्दा भित्रैबाट रंग छोडाउन सकिन्छ ।

कानुनी व्यवस्था
होली पर्व मनाउने क्रममा सुरक्षित र मर्यादित भएर एकले अर्कालाई रंग लगाएर खेल्नुपर्छ । मिलेर सौहाद्रपूर्ण वातावरणमा रंग खेल्न कानुनले निषेध गरेको छैन ।

संस्कृति संरक्षणलाई कानुनले मान्यता र समर्थन गर्छ तर विकृतिजन्य कार्यहरुलाई मुलुकी अपराध संहिता–२०७४ ले हुलदंगा गर्न नहुने, सार्वजनिक शान्ति खलल पार्न नहुने, सार्वजनिक स्थानमा अवागमनमा बाधा पार्न नहुने, सार्वजनिक सेवा अवरूद्ध गर्न नहुने, अभद्र व्यवहार गर्न नहुने, सामाजिक रीतिथितिमा खलल पार्न नहुने, तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने, आपराधिक बल प्रयोग गर्न नहुने, कसुर गर्ने नियतले बेहोस पार्न नहुने भनी त्यस्ता कार्यलाई अपराध मानी कैद तथा जरिवाना सजायको व्यवस्था गरेको छ ।

यस्तै सुरक्षित, अनुशासित र सहज ट्राफिक व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन, मदिरा व्यवस्थापन तथा नियन्त्रणका लागि मदिरा ऐन–२०३१, लागूऔषध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण ऐन–२०३३ सहित अन्य कानुनहरुले पनि अवाञ्छित गतिविधिहरुको नियन्त्रण र उचित व्यवस्थापन गरेको छ ।


राजेश बर्मा